यतिबेला जापान रोजगारीको विषयले निकै चर्चा पाएको छ ।धेरै युवाहरु जापानीज भाषा सिक्नकै लागि भनेर देशका विभिन्न जिल्लाहरुबाट काठमाडौं आएर काठमाडौंका कन्सल्टेन्सी धाउन थालेका छन् ।
कन्सलटेन्सीमा यतिबेला जापानीज भाषा पढ्ने युवाहरुको बाक्लो उपस्थिति देखिन थालेको छ ।तर के भाषा सिक्ने जति सबै जापान रोजगारीमा जान पाउलान त भन्ने विषयमा प्रश्न चिन्ह उठ्न थालेको छ ।
जापानीज भाषा पढेर पास हुने जति सबै जापान रोजगारीमा पठाउन कति सम्भव होला त ?जापान रोजगारीमा कस्ता कामदार कति पठाउने, कुन सीप भएका श्रमिकहरुलाई प्राथमिकता दिने भन्ने विषयको टुंगो नलागेपनि रोजगारीमा पठाउँदा दक्ष श्रमिकहरुलाई प्राथमिकतामा राख्ने मन्त्रालयले जनाएको छ ।
यस अघि पटकपटक जापान सरकारले नेपाली श्रमिक जापान रोजगारीमा पठाउन आग्रह गर्दै आएपनि नेपाल सरकारले खासै चासो देखाएको थिएन ।
जापानका उद्योग, निमार्ण, केयरगिभर लगायतका क्षेत्रमा मात्रै नेपाली श्रमिकहरु रोजगारीका लागि लैजान जापान सरकारले आग्रह गर्दै आएको र नेपाली श्रमिकहरुलाई यी क्षेत्र बाहेक व्यापार, व्यबसाय, होटल, रेस्टुरेन्ट, नर्सिङ लगायत विभिन्न व्यवसायीक क्षेत्रमा समेत पठाउन सरकारले जोड दिने हुँदा जापान रोजगारमा श्रमिक पठाउन तत्काल चासो नदेखाएको मन्त्रालयको भनाई छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले खाडी लगायतका मुलुकमा सस्तो मूल्यमा अमूल्य श्रम बेच्न बाध्य नेपाली श्रमिकहरुको हकहितलाई ध्यानमा राखि सुरक्षित व्यबस्थित र मर्यादित तवरमार्फत नेपाली श्रमिकहरुलाई आकर्षक गन्तव्य मुलुकको खोजी गरिरहेको बताउँदै आएका छन् ।
यसैक्रममा नेपाली श्रमिकहरुको निकै महत्वपूर्ण गन्तव्य मुलुकका रुपमा रहन सक्ने जापानमा नेपाली श्रमिक शून्य लागतमा जान पाउने गरी छलफल अगाडी बढाइरहेका छन् ।
जापानमा नेपाली श्रमिकहरु वार्षिक रुपमा ४५ हजार पठाउन सक्ने गरी श्रम सम्झौता गर्ने अन्तिम तयारी सरकार गरिरहेको छ । नेपाल सरकारका तर्पmबाट श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका केही उच्च अधिकारी र जापानका उच्च प्राविधिक टोलीबीच केही समय अगाडी श्रम सम्झौताका विषयमा औपचारीक छलफल समेत भइसकेको छ ।
नेपालले सम्झौताका लागि ड्राफ्ट समेत पठाइसकेको र जापान सरकारले पठाउने जवाफको प्रतिक्षामा रहेको जनाएको छ ।
नेपाल र जापान सरकारबीच सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार लैजाने भनिएपनि यसमा अन्तिम टुंगो भने लाग्न सकेको छैन । सरकारी संयन्त्रमार्फत नै जापान रोजगारीका लागि नेपाली कामदार पठाउने गरि संरचना निर्माण र छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
जापान रोजगारीमा श्रम सम्झौताका विषयमा अब छिट्टै टुंगो लाग्ने श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको भनाई छ ।जापान रोजगारीमा प्राथमिकतामा भाषा र सीपमा दक्ष भएका जनशक्तिलाई समेटिने सहसचिव घिमिरे बताउँछन् ।
रोजगारीका लागि दक्ष जनशक्ति पठाउँदा समस्यामा पर्ने सम्भावना कम रहन्छ । वैदेशिक रोजगारीमा अन्य विभिन्न मुलुकहरुमा गएका नेपाली श्रमिकहरुको अबस्था हेर्दा पनि अदक्ष कामदारहरु नै बढी समस्यमा पर्ने गरेका छन् ।भाषाको समस्या हुँदा र कुनै सीप आफूसँग नहुँदा सस्तो ज्यालामा निकै कठिन परिश्रम गर्न बाध्य छन् ।
सहसचिव घिमिरेले भने, ‘श्रमिहरुको सहजताका लागि पनि दक्षतालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यक देखिन्छ । भाषा र सीपमा दक्ष भएका श्रमिकहरु सहज रुपमा काम गर्न सक्ने हुँदा समस्यामा पर्दैनन् । पहिलो चरणमा जापान रोजगारीका लागि श्रमिक पठाउँदा जापान सरकारले पनि दक्ष जनशक्ति नै छनोट गर्ने सम्भावना बढी छ ।’
जापान सरकारले विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदार रोजगारीमा लिँदै आएको छ । जापानले नर्सिङ, केयर गिभर, सुरक्षा गार्ड, उत्पादनमुलक उद्योग, सूचना प्रविधि, होटल, व्यबसाय, पर्यटन शिक्षा , कृषि, माछापालन, समुद्र, खाद्य लगायत क्षेत्रमा विदेशी कामदार आपूर्ति गदै आएको छ ।नेपालबाट पनि नर्सिङ र केयरगिभर कामलाई प्राथमिकतामा राख्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।










