प्रिमेश सिवाकोटी रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनमा तराईबासीको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । रौतहटको गरुडामा आयोजित बृहत्त आमसभालाई सम्बोधन गर्दै दाहालले मुलुकमा भएका परिवर्तनमा यहाँका जनाताले ठूलो भुमिका खेलेको बताउनुभयो ।
नेकपाको एकतापछि विभिन्न भ्रमहरु छर्ने र नेपालको वामपन्थी आन्दोलनलाई तुहाउने प्रपञ्च भएको बताउँदै उहाँले त्यस्ता तत्वहरु सफल नहुने ठोकुवा गर्नुभयो । नेकपाको एकता अन्तिम चरणमा पुगेको र केही दिनभित्रै सबै प्रक्रिया टुंगिने उहाँको भनाइ थियो । प्रदेश नम्बर २ एक समृद्ध प्रदेश रहेको बताउँदै दाहालले यहाँको औधोगिक क्षेत्र विकासलाई प्रोत्साहन गर्दै लैजानुपर्ने औँल्याउनुभयो ।
दाहालले भन्नुभयो– ‘प्रदेश २ सम्भावनाको खानी हो, मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने सरकारी लक्ष्यमा सबैले सहयोग गरौँ ।’ हत्याहिंसा, आन्दोलनले आक्रान्त भएको मुलुकमा अब विचारको लडाइँ मार्फत परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । तराईका विखण्डनकारी गतिविधि गर्दै आएका समुहहरुलाई वार्तामा ल्याएर सरकारले सहमतिको प्रयास गरेको प्रचण्डको धारणा छ । उहाँले थप्नुभयो– ‘सबै बिषयलाई सामान्य ढंगले मात्रै नबुझी त्यसको दीगो विकास र असरलाई सबैले आत्मसात गर्नुपर्ने हुन्छ ।’











