विराटनगर : नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फालिदिएको रहस्य खुलेको छ । फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरी शव गायव बनाउन कोसी ब्यारेजको पुलबाट नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ तीन दिनअघि इलामबाट पक्राउ परेका हुन् । गुरुङले दिएको बयानका आधारमा दुई दिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाए पनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हत्या हुँदा शव फेला पर्नुपर्ने हुन्छ । कोसी नदीमा फालेको बताएका कारण खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भने, ‘घटनामा अरु प्रमाण पनि जुट्नुपर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ ।’ नदीले बगाइसकेका कारण पनि शव नभेटिएको हुन सक्ने उनले बताए ।

महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो । त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ प ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ ।

हत्यापछि यही गाडीमा शव राखेर नदीसम्म पु¥याएको प्रहरीको दाबी छ । बेपत्ता भएकै राति हत्या गरेर शव गायव बनाउन कोसी नदीमा फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिला हराएको राति दुवैजना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।

महिला बेपत्ता भएपछि गुरुङलेसमेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर आफ्नी ‘गर्लफ्रेन्ड’ हराएकाले तनाब भएको बताएका थिए । हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।

नेकपा नेता गुरुङ एमाले बेलबारीका पूर्वअध्यक्ष हुन् भने नोबेल अस्पताल बेलबारी एवं एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्या गर्नुपर्ने कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घटना भएको साँझ योगेन्द्र रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए । सोही दिन उनीहरु सुन्दरहरैंचा विराटचौकस्थित हवाना रेष्टुरेण्टमा गएको खुलेको छ । शुक्रबार राति ११ बजेतिर योगेन्द्र सबैलाई लिएर घर फर्किएका थिए । उनले रमिलाकै घर छेउकी महिला र सोही टोलका युवकलाई छाडिदिएको तर रमिलालाई भने गाडीमै लिएर गएको खुलेको प्रहरीले जनाएको छ ।

रमिला नभेटिएपछि आफन्तले दिएको जानकारीका आधारमा स्थानीय बासिन्दा, परिवारका सदस्य र प्रहरी मिलेर विभिन्न ठाउँमा रमिलाको खोजी गरेका थिए । योगेन्द्र पनि सँगै रमिलाको खोजीमा लागेका थिए । एकाएक उनी उनी बेलबारीबाट भागेका थिए । रमिला र र योगेन्द्रबीचमा केही समयदेखि सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यही सम्बन्धमा दरार उत्पन्न भएपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

हत्या गरेर कोसी नदीमा फालेपछि भोलिपल्ट बिहान अन्य चारजना सहयोगीलाई लिएर गुरुङ शव नदी आसपासमा छ कि छैन ? भनी हेर्न गएको प्रहरीले जनाएको छ । शवका बारेमा बुझ्न कोसी नदीसम्म पुगेका दुई युवतीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई युवाको खोजी भइरहेको जनाइएको छ ।

प्रहरीकाअनुसार रमिला हराएपछि उनकी बहिनीले योगेन्द्रलाई पनि फोन गरेर रमिलाका बारेमा सोधेकी थिइन् । तर योगेन्द्रले राति ११ बजे घर नजिकै ल्याएर छाडिदिएको बताएका थिए । रमिला घर नफर्किएको भनेर फोन गरेपछि योगेन्द्र उनी बस्दै आएको माइती घरमा पुगेका थिए । उनैले बेपत्ता भएको कुरा प्रहरीलाई जानकारी गराउन रमिलाका माइती पक्षलाई सुझाव दिएका थिए । अन्नपूर्ण पोस्ट बाट साभार गरिएको