काठमाडौं, २७ फागुन । सरकारसँग सहमति गरेको ४८ घन्टामै सीके राउत समर्थकले जनकपुरमा आइतबार ‘फ्रि मधेस’ को नारासहित गरेको प्रदर्शनबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक पत्रकार सम्मेलन गरेका छन् ।
सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा राउतसँग भएका सहमतिबारे उठेका आशंकालाई हटाउन प्रधानमन्त्री केपी ओलीको सल्लाहमा प्रचण्डले पत्रकार सम्मेलन गरेका हुन् । प्रचण्डले राउतका समर्थकको आइतबारको प्रदर्शनले केही आशंका जन्माए पनि धेरै तरंगित हुनुपर्ने आवश्यकता नरहेको बताए ।
‘मेरो आज बिहान मात्रै प्रधानमन्त्रीज्यूसँग कुराकानी भएको थियो, उहाँ सरकार आत्तिनहालेको बताउँदै राउतले सहमतिबारे आफ्ना कार्यकर्ता र समर्थकलाई बुझाउन बाँकी रहेको जानकारी दिनुभयो, कुरा यही हो,’ उनले भने । प्रचण्डले सरकारले चाहेमा पनि तत्काल जनमतसंग्रह नहुने बताए । उनले सहमति पत्रमा केही द्विअर्थी शब्द परे कि भन्ने आशंका जनमानसमा उब्जेको बताए ।
सीके राउत मूलधारको राजनीतिमा आउन चाहेकाले सरकारले जानेरै सहमति गरेको प्रचण्डको भनाइ थियो । उनले अहिले मिडियामा जसरी राउतसँग भएका सहमतिबारे समाचार आइरहेका छन्, त्यसमा त्यति सत्यता नभएको दाबी गरे । भर्खरै जेलबाट छुटेकाले पनि राउतले आफ्ना समर्थकलाई बुझाउन बाँकी रहेको उनले बताए । यदि सहमति विपरीत गए राज्यलाई कारबाही गर्ने अधिकार निहित भएको उनको भनाइ थियो । मिडिया एनपी बाट साभार










