पोखरा, २७ फागुन– नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारसँग भेटी समवेदना प्रकट गरेका छन् ।
रवीन्द्रका परिवार भेट्न प्रचण्ड घटना भएको १३ औं दिनमा सोमबार पोखरास्थित अधिकारी निवास पुगेका थिए । प्रचण्डले रवीन्द्र पत्नि विद्या भट्टराई, दुई छोरा, बाबुआमा र भाईहरुसँग भेटेर नहुनुपर्ने घटना भए पनि सहनुको विकल्प नभएको बताए ।
‘नराम्रो घटना भयो । तर, पनि धैर्य धारण गर्नुस्, यो भन्दा अर्को विकल्प छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने । प्रचण्डले रवीन्द्रका परिवारको जिम्मा पार्टीले लिने भन्दै एक्लो महसुस नगर्न आग्रह गरे ।
‘तपाईंहरु एक्लो महसुस नगर्नुस् । तपाईंहरुका पछाडि पार्टी छ, जनता छन् र हामी छौं’, प्रचण्डले भने । जवाफमा रवीन्द्र पत्निले आफूहरु क्रमशः सम्हालिँदै गएको बताइन् । ‘धेरै गाह्रो हुँदोरहेछ’, उनले भनिन्, ‘तर, हामी विस्तारै सम्हालिँदै गएका छौं ।’
ताप्लेजुङको पाथीभरा मन्दिर नजिकै गत १५ फागुनमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको थयो ।











