काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं वार्षिकोत्सवलाई सोमवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन । यस विषयमा कसैले चिन्ता नगरे हुन्छ ।'

फाइल तस्बिर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले पृथकतावादी समूह सानो भएपनि त्यो विषाक्त हुने भएकाले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन् । 'पृथकतावाद सानो भएपनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो,' उनले भने ।

उनले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए । 'नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरू पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्, 'प्रधानमन्त्री ओलीले भने, 'राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पुर्‍याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।'

विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने ओलीको भनाइ छ । 'देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुदैन ।' लोकान्तर बाट