काठमाडौं, २७ फागुन । प्रदेश–२ सरकारले सीके समर्थकहरुलाई चेतावनी दिंदै जनकपुर ‘हर्कत’ दोहोरिए सैह्य नहुने बताएको छ ।
पृथकतावादी गतिविधि त्यागेको घोषणा गर्दै सहमति गरे लगतै फेरि पृथकतावादी गतिविधि हुनु गैरकानूनी हुने भन्दै अब फेरि जनकपुरमा जस्तै कुनै गतिविधि भए सैह्य नहुने बताएको हो ।
हिजोको सीके राउत समर्थकको गतिविधिलाई २ नम्बर प्रदेश सरकारले गम्भिर रुपमा लिएको बताउँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले भने, ‘राउतका समर्थकले जनकपुरमा गरेका गतिबिधि गलत हुन्, सहमतिको दुबै पक्षले अक्षरशः पालना गर्नुपर्छ । सहमति तोडेर प्रदर्शनमा उत्रिनु गलत हो ।’
राउतको मूलधारको राजनीतिमा प्रवेश संघीयता संस्थागतका लागि सराहनीय कदम रहेको भन्दै मन्त्री यादवले जनकपुरमा राउतको स्वागतमा गरिएको प्रदर्शन, लगाइएका नारा र बोकिएका झण्डा गैरकानुनी रहेको दावी गरेका छन् ।
‘सहमति भङ्ग नहोस् भनेर हामीले पहिलो पटक छुट दिएका हौं,’ मन्त्री यादवले थपे, ‘अब त्यस्तो भूल गरे प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुनेछ ।’ उनले दण्डहीनता रोक्न प्रदेश सरकार अग्रसर रहेको समेत बताएका छन् ।
सुरक्षाकर्मीको जस्तो पोशाक लगाउने, आफ्नै सुरक्षा दस्ता बनाउने यो काम मान्य नहुने बताउँदै मन्त्री यादवले भने, ‘सुरक्षा थ्रेट छ भने प्रदेश सरकार त्यसको व्यवस्थापन गर्न तयार छ । तर आफूखुशी समानान्तर सरकार चलाउन खोजे सह्य हुन्न ।’ राउतका समर्थकले आइतबार जनकपुरमा ‘फ्रि मधेस’ लेखिएका झण्डा र ‘स्वतन्त्र मधेस’ जिन्दावादको नारा लगाएका थिए ।
आइतबार अपरान्ह जनकपुर आएका राउत साँझदेखि नै जनकपुर–८ स्थित बलवाटोलमा रहेको डेराकै घरमा रहेको स्थानीयले जानकारी दिएका छन् । सोमबार बिहान उनको घर अगाडि चहलपहल देखिए पनि दिउँसोबाट भीड पातलिएको उनीहरुले बताएका छन् ।
घरमै बसिरहेका राउतले निकटका समर्थकसँग सरकारसँग गरिएको सम्झौताका बारेमा कुराकानी गरेको स्रोतले जानकारी दिएको छ ।











