टिप्पणी
बिष्णुप्रसाद पोखरेल
दमक/दमकमा ठूलो ठगि काण्ड मच्चिएपछि अहिले मिटर ब्याजको बिषयमा भनि छलफल र बहस शुरु भएको छ । दमकमा नाम चलेका र सामाजिक पहिचान बनाएका भिआइपिहरु छिटो धनी बनेको रहस्य समेत खुल्ने क्रममा रहेको छ । दमकमा ३० जनाभन्दा बढिको नाम मिटर ब्याजमा पैसा लगाउने गरेको भन्दै आउने गरेको छ । उनिहरु समाजले पत्याएका र सामाजिक रुपमा अगुवाइ गरिरहेकाहरु नै धेरै रहेकाछन् ।
दैनिक रुपमा महगो ब्याज लिएर आफ्नै अबर परेका साथीभाइहरुलाई पैसा दिने कार्यलाई यहाँ मिटर ब्याज भनेर चर्चा भएको छ । एकलाख रुपियाको दैनिक एकहजारसम्म ब्याज लिएर अबर परेकाहरुलाई पैसा लगाइदिनेहरु एकाएक करोडपती बनेको र केहि पूजि भएका ब्याक्तिहरु पनि दिनदिन गरिब बन्दै गएको पाइन्छ ।
दमकमा मिटर ब्याजका कारण नै मोतिराम अधिकारी अहिले ठगिको आरोपमा पक्राउ परेपछि यस बिषयमा बहस चर्केको हो । सवाल नेपालमा मिटर ब्याजको बिषयमा समचार प्रकाशन गरेपछि दमकमा एक किसिमको तंरग नै उत्पन्न भएको छ । एक ब्यापारीले फोन गरेर भनेकाछन्–‘मैले नै दश लाख रुपिया लिएर छ महिनामा १५ लाख रुपिया बुझाएको छु, आवश्यकता परेर छपाउनु हुन्छ भने नाम दिन तयार छु ।’
आफूले रकम तिर्न नसक्दा तीन महिनामा नै एउटा जग्गाको टुक्रा समेत बुझाउनु परेको भन्दै बाध्यतामा परेकाहरुलाई मार्ने काम भइरहेको उनले बताए । मिटर ब्याजका कारण पैसा तिर्न नसक्दा आफ्नो घरखेत नै जिम्मा लगाउनेहरुको संख्या पनि दमकमा धेरै रहेको बताईएको छ । घरजग्गा किनबेच गर्ने देखि लिएर सामान्य परिवारका ब्याक्तिहरु समेत यसबाट पीडत रहेकाछन् । मिटरमा ब्याजको कारोबार गर्नेहरु कतिपय यहाँ रहेका ठूला तथा साना बैकका कर्मचारीहरुको पनि संलग्नता रहेको बताइन्छ । उनिहरु पनि यस्तो ब्याजबाट लोभिने गरेकाछन् । सयकडा २० देखि २५ प्रतिशतसम्म ब्याजको कारोबार हुने श्रोतको भनाइ रहेको छ । यसलाइ सामाजिक अपराधको रुपमा लिएर कार्वाही गर्नु पर्ने माग शुरु भएको छ ।



