काठमाडौं, ३० फागुन । सरकारले भर्खरै मात्र प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पार्टी व्यक्ति हत्या गर्ने योजनामा अगाडि नबढेको स्पष्ट पारेको छ ।

राजनीतिक व्यवस्था परिवर्तनको एजेण्डा उठाइरहेको आफूहरुलाई व्यक्ति हत्याबाट परिवर्तन सम्भव छैन भन्ने जानकारी रहेको बताउँदै व्यक्ति हत्याको कुनै योजना नरहेको र यस्तो काम पार्टीले नगर्ने पनि बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या योजनाको बनाइरहेको भन्दै पार्टीमाथि लागेको आरोपको खण्डन गर्दै व्यक्ति हत्याको कुनै योजना नरहेको स्पष्ट पारेका हुन् ।

‘सरकारले हामीलाई जनतासामु बदनाम गर्न र दमनका लागि सरकारले तयार पारेको हतकण्डा हो’, कार्कीले भने, ‘कुनै दल विशेष, त्यसको नेतृत्वलाई लक्षित गर्ने कार्यक्रम पार्टीको छँदै छैन्, जनतामा भ्रम सिर्जना गर्न खोजिएको मात्र हो ।’ सरकारले प्रतिबन्धको औचित्य पुष्टि गर्न अराजनीतिक, संविधान विरोधी गतिविधि गरिरहेको बताउँदै त्यही गतिविधिलाई औचित्यपूर्ण बनाउन योजना बनाइएको उनको आरोप थियो ।

उनले नेकपाले व्यक्ति हत्याबारे पार्टीले सोच्दा पनि नसोच्ने बताए । ‘त्यो केवल हामीलाई गलत देखाउन खोज्ने षड्यन्त्र मात्र हो । संविधान, ऐन कानुन विरोधी हर्कत हो’, उनले थपे, ‘प्रतिबन्धको औचित्य पुष्टि गर्न सरकारले आफैं डायरी तयार पार्न लागेको छ । प्रचण्ड र केपी ओलीको हत्या गर्ने भनेर कुन चाहिँले डायरीमा लेखेर हिंड्छ ? हाम्रो पार्टीमा छैन ।’

उनले दलभित्र रहेका भ्रष्ट दलालहरू, घुसखोरलाई जनकार्वाही गर्ने लक्ष्य भने रहेको स्पष्ट पारेका छन् । ‘राष्ट्रिय सम्पत्तिमा लुट मच्चाउने, राष्ट्रिय सम्पत्ति हडप्ने, एनसेलको दोहन गर्ने, आयल निगम टाट पल्टाउनेहरु जनकार्वाहीमा पर्छन्’, उनले थपे, ‘तर भौतिक कार्वाही र व्यक्ति हत्याको कल्पना पनि गरेका छैनौं, यसमा सर्वसाधरण नागरिक भ्रममा नपर्न आग्रह गर्छु ।’