जापान सरकारले शुक्रबार नयाँ भिषा प्रक्रिया अनुसार अर्को महिनाबाट आउने बिदेशी कामदारको लागि लक्षित गरेर नयाँ नियम जारी गरेको छ । बिदेशी कामदार ल्याउने जापानी कम्पनीको लागि लागू हुने गरि जारी यस्तो नियमले कामदारको विषयहरुलाई समेटेको छ । जसमा जापान आउनुअघि, आएपछि, यहाँ रहँदा र कामदारहरु आफ्नो देश फर्कंदा सम्मको विषय समेटिएको छ ।
बढ्दो कामदार अभावका कारण जापानका कयौं उद्योगहरुले आफ्नो उत्पादन क्षमतालाई कटौती गर्नुपर्ने अवस्था सिर्जना भएपछि जापानले बिदेशी कामदार ल्याउने नीति गत बर्ष संसदबाट पारित गरेको थियो । घट्दो जन्मदर, बढ्दो बृद्धबृद्धाको संख्या अनि युवाशक्तिको संख्या लगातार ओरालो लाग्दा जापानमा आन्तरिक श्रमशक्तिले मागको आपुर्ति धान्न नसक्ने अवस्था सिर्जना भएको छ ।
शुक्रबार जारी गरेको कामदारहरुको लागि कार्यक्षेत्र सहित जापान आउने र आईसकेपछि लागू हुने नियमले कामका स्वच्छ वातावरणको सिर्जना गर्ने अपेक्षा जापानको न्याय मन्त्रालयले गरेको छ । न्याय मन्त्री ताकासि यामासिताले बिदेशी कामदारको हकमा सबै विषयलाई समेटेर नयाँ नियम जारी गरिएको पत्रकार सम्मेलनमा बताएका छन् ।
जापान आउने नेपाली कामदारले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने, यस्तो छ स्वास्थ्य परिक्षणको मापदण्ड, यस्तो छ जापानी कम्पनीहरुले बिदेशी कामदारको लागि पालना गर्नुपर्ने नियम
१. कामदारहरुले तोकिएको न्यूनतम तलबमानमा नघटाएर अनिवार्य रुपमा तलब व्यक्तिको बैंक खातामा जम्मा गरिदिनुपर्नेछ ।
२. यस्तो तलब तोकिएको मितिमा कामदारको खातामा जम्मा गरेको प्रमाण कम्पनीले रेकर्डमा राख्नुपर्नेछ ।
३. कामदारहरुले विशेष कारणवश आफ्नो देश फर्कंदा खर्च समस्या भएमा सम्वन्धित कम्पनीले व्यहोर्नुपर्नेछ ।
४. बिदेशी कामदार राख्न चाहने कम्पनीले स्पष्ट मागपत्र, आधार सहित बिदेशी कामदार ल्याउन पाउनेछन् । तर त्यसको लागि बिचमा मध्यस्थकर्ता एजेन्ट जसले कामदारबाट निर्धारित शुल्क भन्दा बढी वा अतिरिक्त कुनैपनि शुल्क लिएको हुनुहुँदैन, लिन पाउनेछैन ।
५. बिदेशी कामदार राख्ने कम्पनीले विगत ५ बर्ष यताको अध्यागमन नियम, कानुन पालना गरेको रेकर्ड राख्नुपर्नेछ ।
६. कामदारको हकमा काम गर्नको लागि स्वास्थ्यको दृष्टिकोणले ठिक अवस्थामा अर्थात् स्वस्थ भएको अवस्थामा मात्र भिषा उपलब्ध हुनेछ ।
७. कम्पनीहरुले कामदारको लागि दैनिक बसोबासको व्यवस्थापन गरे बापत शुल्क लगाउन सक्नेछन् । जसमा आवश्यक व्यवस्थापनमा खाना सहितको बासस्थान र जापानी भाषा अध्ययनको व्यवस्था अनिवार्य समेटिएको हुनुपर्नेछ ।
८. तोकिएको ९ देशबाट १८ बर्ष पुरा भएको व्यक्ति महिला पुरुष जापान आउनको लागि योग्य हुनेछ ।
जापान तोकिएको काममा आएका बिदेशी कामदारले निश्चित क्षेत्रमा काम परिवर्तन गर्न पाउने ! नयाँ भिषा प्रणाली अनुसार जापानले अर्धदक्ष र दक्ष गरेर दुई प्रकारको भिषामा नेपाल सहित ९ वटा देशबाट आगामी अप्रिल महिनाबाट सुरु भई आगामी ५ बर्ष भित्रमा ३ लाख ४५ हजार बिदेशी कामदार ल्याउने प्रक्रिया अघि बढाएको छ ।
पहिलो प्रकारको भिषामा अर्धदक्ष कामदारले ५ बर्षे भिषा अवधिमा जापान आएर काम गर्न पाउनेछन् । जसले जापानी कामदार सरह कम्तिमा न्यूनतम तलब सहितको सेवा सुविधा पाउनेछन् । तर पाँच बर्षको अवधिमा उनिहरुले आफ्नो परिवारका सदस्यहरुलाई भने जापान ल्याउन पाउनेछैनन् । यद्यपी उनिहरु आफ्नो देशमा आउजाउ गर्न वा फर्कन पाउनेछन् । दोस्रो प्रकारको भिषा अनुसार दक्ष व्यक्ति तथा कामदारहरु पर्दछन् । विशेष शिप क्षमता भएका, विज्ञ, प्रोफेसर, चिकित्सक जस्ता उच्च क्षमता भएका व्यक्ति यस्तो भिषा मार्फत जापान आउन सक्नेछन् । जसले सुरुमा ६ महिना, एक बर्ष वा तीन बर्षको भिषा पाउनसक्नेछन् । तर उनिहरुको लागि भिषा नविकरणको समय निश्चित हुनेछैन अर्थात् चाहेको समय अवधिभर रहन सक्नेछन् । साथै यस्ता भिषामा आउनेहरुले सहजै आफ्ना परिवारका सदस्यहरुलाई जापान ल्याउन पाउनेछन् । निश्चित पक्रिया पुरा गरेमा उनिहरुले चाहेको समय जापानमा रहनको लागि भिषा उपलब्ध गराउने जापान सरकारले बताएको छ ।
यसैगरि जापान प्रशिक्षार्थी कामदारको रुपमा आएर नियमानुसार फर्कीएकाहरु पहिलो भिषा पक्रिया अनुसार जापान आउनको लागि योग्य हुनेछन् । उनिहरुको लागि भाषा परिक्षा लगायत अन्य नियमहरु छुट हुनेछ । जापान सरकारले समेत प्रशिक्षार्थी कामदारमा आएर फर्कीएका धेरैले नयाँ भिषा प्रक्रिया अनुसार जापान आउन निवेदन दिने अपेक्षा समेत गरेको जनाएको छ ।
सन् १९९३ बाट बिदेशीलाई प्राविधिक प्रशिक्षार्थीको रुपमा जापान ल्याउने सुरुवात गरेको जापानले सुरुमा यसलाई विकासशिल देशहरुमा प्रविधिको हस्तान्तरणको रुपमा लिएको थियो । पछि कामदार अभाव बढ्दै जाँदा जापानले यसलाई कामदार अभाव पूर्तीगर्ने माध्यम समेत बनाउँदै गएको पाईन्छ । बढ्दो कामदार अभावलाई पूर्ती गर्न विकासशिल देशहरुबाट सस्तो श्रमशक्ति ल्याउने गरेको आरोप समेत खेपिरहेको जापानले पछिल्लो समय पाँच वर्षे भिषा अवधिमा ल्याउन लागेको कामदारबारे समेत टिप्पणीहरु हुन थालेको छ । जापान समाचार बाट










