काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत माओवादीबाट चोइटिएर गएपछि विप्लवका कार्यकर्तालाई प्रहरीले पहिलो पटक गोली नै चलाएर नियन्त्रणमा लिएको हो। मंगलबार राती काभ्रे रोसी गाउँपालिकास्थित काफलडाँडामा पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

मंगलबार विहान दाङ तुल्सीपुरका नुमबहादुर विक र भोजपुर टेम्केमैया गाउँपालिकाका डिकेन्द्र राईलाई नियन्त्रणमा लिएपछि उनीहरुकै बयानका आधारमा प्रहरी साँझ काभ्रे पुगेको थियो। विप्लवका प्रवक्ता हेमन्त प्रकाश ओलीलाई समेत पक्राउ गर्न प्रहरी काभ्रे पुगेको थियो। तर, प्रहरी आएको सूचना पाएपछि ओली फरार भएको महाशाखाले जनाएको छ। प्रहरी देख्ने वित्तिकै गोली चलाएपछि प्रहरीले जवाफी फायर खोलेको महाशाखाका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले चार राउण्ड गोली चलाएपछि दुईजना झापा मेची नगरपालिकाका शिव धिमाल र सिन्धुपाल्चोक जुगल गाउँपालिकाका विशाल तामाङ प्रहरी नियन्त्रणमा आएको जानकारी राठौरले दिए। गत फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरेर गराइएको बम विस्फोट, सोही दिन कमलपोखरीस्थित आँगन मिठाई पसलमा राखिएको बम र फागुन २४ गते बसुन्धराका रोहन गुरुङको घरमा गराइएको विस्फोटबारे महाशाखाले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको थियोे। नख्खु विस्फोटमा एक जनाको मृत्यु समेत भएको थियो भने दुई घाइते भएका थिए।

महाशाखाले सुरुमा नख्खुमा भएको विष्फोटमा संलग्न भएको आरोपमा विप्लवकै अंगरक्षक सूर्यप्रसाद भुजेललाई नियन्त्रणमा लिएको थियो। भुजेलकै फोनमा भएको सम्पर्कका आधारमा अहिलेसम्म बम विष्फोटमा संलग्न १५ जनालाई नियन्त्रणमा लिइसकेको छ।

महाशाखाका एसपी राठौरका अनुसार मंगलबार नियन्त्रणमा लिइएका मध्ये राई र धमाल नख्खुमा विस्फोट घटनामा प्रत्यक्ष संलग्न आरोपी हुन्। विक र तामाङ भने वसुन्धरास्थित गुरुङको घरमा विस्फोट घटनाका प्रत्यक्ष संलग्न रहेको जानकारी राठौरले दिए। प्रहरीले यो समूहबाट मोबाइल र विभिन्न राजनीतिक दस्तावेज बरामद गरेको छ।

अन्नपूर्ण पोस्ट बाट साभार