काठमाडौं । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुल्ला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ ।
ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । देशको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स पढिरहेका विद्यार्थी आ–आफ्ना डेरा छाडेर बिहीबार साँझ खुल्ला चौरमा आएका थिए ।
उनीहरुमध्ये कोही खाना पनि त्यही खाँदै थिए । कोही कम्बल आढेर लाइनमा सुतिरहेका थिए । सरकारले अनलाइन प्रणालीबाटै परीक्षा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेपनि आवश्यक जानकारी नहँदा युवाहरु यसअघिका वर्षहरुमा जस्तै रातभर लाइन लागेका हुन् समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।









