बिष्णुप्रसाद पोखरेल
दमक/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा रहेको दमक बहुमुखि क्याम्पसको स्वबियूमा नेबि संघले जित हासिल गरेको छ । नेबि संघका उम्मेदवार बिनोद चापागाइ दमकमा ‘बिद्यार्थी हिरो’ भएकाछन् । यहाँ अखिल क्रान्तिकारी या अनेरास्वबियूले जित्ने अड्कल काट्दै उनलाइ कमजोर आँकलन गरिएको थियो । तर उनले शुरुवातदेखि लिएको अग्रता कायम राख्दै शानदार रुपमा दमक क्याम्पसमा नेबि संघको बिरासतलाई कायम राखेकाछन् । यसभन्दा अगाडिको स्वबियू निर्वाचनमा नेबि संघ नै बिजय भएको थियो ।
नेबि संघ झापाका अध्यक्ष रोशन बिष्टका अनुसार यो एउटा ठूलो सफलता हो र यसलाई आफूहरुले महत्वका साथ हेरेको बताए । स्थानीय तहको निर्वाचनलाई समेत आँकलन गर्नका लागि यो यहाँ क्रियाशिल राजनीतिक दलहरुका लागि मिनि जनमत संग्रह कै रुपमा हेरिएको थियो । बिष्टले चापागाइले जित्ने देखेर नै उठाइएको र आफूहरुको अनुमान सहि भएको जनाए ।
नेपाली काँग्रेस दमक नगर कमिटिका सह सचिब दीपेश दाहालले आफूहरुको गरेको जितको अनुमान र तयारी फेल नखाएको जनाए । उनले आफूहरुले निर्वाचन भइरहदा नै यो नतिजा आउने अनुमान लगाइसकेको र चापागाइको क्याम्पसमा निरन्तरता जितको आधार रहेको जनाए । उनले चापागाई दमकमा बिद्यार्थी हिरोको रुपमा उदाएको बताए ।
यस क्याम्पसमा स्वबियू जित्नका लागि नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओबादी केन्द्रले भगिरथ प्रयत्नहरु गरेका थिए । माओबादी केन्द्रले त अध्यक्ष पद लिएर अधिकाँश अन्य पदहरु प्यानलमा सहभागि भएका अन्य दलहरुलाइ बाडेको थियो ।
कूल ११ सय ४ मत खसेकोमा नेबि संघका चापागाइले ४ सय ११ मत ल्याएर जितेका हुन् । अखिल क्रान्तिकारीका रबि बस्नेतले ३ सय ३५ र अनेरास्वबियूका सन्तोष दूलालले ३ सय १५ मत प्राप्त गरेका छन् । सचिबमा भने अनेरास्वबियूका रोशन भण्डारीले भारी मत अन्तरले जित हासिल गरेकाछन् । कोशाध्यक्षमा अखिल क्रान्तिकारीको प्यानलबाट राप्रबिसंघका उम्मेदवार सनिल धिमालले जित हासिल गरे । यस किसिमको मिश्रित परिणामले सबैलाइ चकित बनाएको छ ।



