बिनु पोखरेल
धुम्बाराही स्थित एमाले केन्द्रीय कार्यालय परिसरमा बिहीवार दिउसो मधेसी समुदायका दुई बृद्ध अलमलिंदै हिडिरहेका थिए । कार्यालय परिसरमा रहेका एमाले कार्यकर्ताहरुसँग केही सोधखोज गरेपछि उनीहरु कार्यालय भित्र छिरे र सरासर महासचिव ईश्वर पोखरेलको कार्यकक्ष अगाडि पुगे ।
पोखरेल आफ्नै कार्यकक्षमा भेटघाटमै खुव ब्यस्त थिए । त्यति नै बेला ढोकाबाट चिहाए मधेसी मुलका ती दुई बृद्धले । भित्र पोखरेललाई देख्नासाथ उनीहरु ठूलो स्वरमा कराए– ‘नवीन जी ! निक छै ?’ (नवीनजी सन्चै हुनुहुन्छ ?)
३७ वर्षअघि तत्कालीन मालेको भूमिगत राजनीति गरेर धनुषामा बस्दा पोखरेलको नाम रहेछ नवीन । उनै नवीनलाई भेट्न आएका रहेछन् उसबेलाका सहकर्मी रामाशिष पासवान र पाण्डव(रोहित) यादव ।
३७ वर्षअघि तराई मधेसमा भूमिगत जीवन विताउँदाका साथीहरुलाई ढोकामा देखेपछि पोखरेल पनि छक्क परे । उनी कुर्सीबाट उठे र ढोकासम्म आएर दुवैलाई अंगालो हाले । अनि पोखरेल आफैंले कुर्सी ताने र कार्यालय शैली त्यागेर उनीहरुसँग घुँडा जोडिनेगरी आसन जमाएर बसे ।

मेची–महाकाली अभियान लिएर एमाले नेताहरुले तराई झर्ने तयारी गरिरहेकै बेला मधेसवाट आएका उनीहरुसँग लामै कुरा गर्ने मुड बन्यो पोखरेलको पनि । मैथिली भाषामा राम्रो पकड भएका पोखरेल उनीहरुसँग मैथिलीमै कुरा गरिरहेका थिए ।
रामाशिष र पाण्डव दुवैका हात समातेर सुम्सुम्याउँदै सोधे– ‘की हाल छै ?’
उनीहरुको जवाफ थियो– ‘हमर निक छै ।’ यति संवादपछि उनीहरु लामो समयसम्म मुखामुख गरेर हाँसे । पोखरेलको कार्यकक्षमा भएका कार्यकर्ता त्यसबेलासम्म बाहिर गइसकेका थिए । अलि चर्काे स्वरमा कुरा गर्ने रामाशिषले भने– ‘चलु ओही गाउँमे, पहिला जैसन कारकरै खातिर ।’ (पहिलेको जस्तै काम गर्न आउनुस् गाउँमा)
पहिले कस्तो काम हुन्थ्यो गाउँमा उनीहरु बेलिविस्तार लगाउँदै थिए, पुराना दिन सम्झेर । रामाशिषको अनुहारमा गहिरिएर हेरिरहेका पोखरेलले भने –‘हँ.. हमरा सब अबै छी । अखुन्तक अहाँसब गाउँमे पार्टी जोगाके आ समाजमे सद्भाव रखैन्छैल । मिलक काम करै परत । (हो हामी अब आउदै छौं । पार्टी बचाउँदै सामाजिक सद्भाव राख्ने काम तपाँइहरुले गर्नु भो, अब सबै मिलेर काम गरौं)

मधेसका गाउँ गाउँमा आउन एमाले नेताहरुलाई निम्तो दिएपछि रामाशिष र पाण्डव ३७ वर्ष अघिका पुराना दिनहरु सम्झंदै कुरा गर्न थाले । त्यसबेला नवीनका नाममा ईश्वर पोखरेल धनुषामा बसेको र पार्टीका कार्यक्रमहरु गर्दा सामनतहरुबाट जोगाउँदा भएका घटनाहरु पनि उनीहरुले सुनाए ।
जमिन्दारहरुले किसानहरुलाई गर्ने शोषण विरुद्ध सचेत गराएका रहेछन् त्यसबेला पोखरेल लगायत तत्कालीन मालेको समुहले । नेताहरुलाई अनेक नाता लगाएर आफ्नो घरमा लुकाएर राख्ने गरेका रहेछन् रामाशिष र पाण्डवले ।
त्यसबेलाको गाउँको रोचक घटना सुनाए पाण्डव यादवले । पाण्डव अलि हठ्टाकट्टा र खाइलाग्दो ज्यानका थिए रे । उनीक दिदी सिवर्थी लडाकू स्वभावकी थिइन् रे । कम्युनिस्ट पार्टीका मान्छेलाई सुरक्षा दिएर राखेको भनेर गाउँमा जमिन्दारहरुले आक्रमण गर्न आएछन् । पाण्डव र सिवर्थीले लाठो लिएर जमिन्दारको सबै समुहलाई खेदेछन् ।
‘मलाई त्यसबेलै मारिसकेका थिए, सिवर्थी दिदीले लाठी लिएर आफैं लडेर मलाई जोगाउनु भयो’ पोखरेलले त्यसबेलाको घटना सम्झे । अनि पाण्डवको छातितिर सुम्सुम्याए । पाण्डवको छाति आकर्षक थियो रे पहिल्यै देखि ।
पाण्डव र रामाशिषसँग पोखरेलले गाउँका अरु दिदी बहिनीहरुको हालखवर पनि सोधे । ‘सिवर्थी, सन्ध्या दिदी, हटिया पूर्वेली, जमुना दिदीका की हाल छै’ पोखरेलले सोधे ।

पासवान र यादवले ०३३ सालमा पार्टीको संगठन निर्माण गर्दा ताकाको अनुभव स्मरण गरे । थिचोमिचो र जमिन्दारको शोषण विरुद्ध संगठित हुन कम्युनिस्ट पार्टीले सिकाएको उनीहरुले वताए । त्यसबेलाका गाउँका केटाकेटी पनि तालिम दिएर राखेजस्तै थिए रे । ‘पुलिस जो आउथ्यो नि, बच्चाहरु भुसिया कुकुर आयो भनेर सूचना दिन आउँथ्यो’ रामाशिषले सम्झे, ‘अनि नेताहरुलाई हामीले सुरक्षित गथ्र्याे ।’ पोखरेललाई त्यसबेला गाई गोठालोको परिचय दिएर उनीहरुले घरमा राखेका रहेछन् ।
अहिले पहाडी र मधेसीका नाममा वस्तविक समस्या छोप्न खोजिएको उनीहरुलाई लागेको रहेछ । जातीय छुवाछुत, जमिन्दारहरुले मोहीहरुलाई हेप्ने, बोक्सीको आरोपमा मान्छे जलाउने, दाइजोप्रथा मधेसका समस्या यस्तै यस्तै रहेको उनीहरुले वताए । तर, जातका नाममा विभाजित गर्ने र गरिवीबाट माथि उठ्न नदिने काममा पछिल्लो पटक केही शक्तिहरु सक्रिय रहेको उनीहरुले सुनाए ।
उनीहरुले कम्युनिस्ट पार्टीमा लागेकैले छुवाछुत त्यागेको वताए । पासवान र यादव भए पनि उनीहरुबीच छुवाछुत रहेनछ । ‘हामीबीच छुवाछुत चल्दैन नि हजुर, हामी कम्निस्ट बिचारको हो । पहिल्यै पढेको छौं कि मान्छे ठाँउ, जातले तलमाथि हुँदैन’ रामाशिषले भने, ‘तर, अहिले कस्तो पार्टीहरु आएको छ, जातको कुरा गर्छ, त्यसले दुःखको सुखको कुरा गर्दैन ।’
उनीहरुले आफूलाई कम्युनिस्ट भने पनि मधेसमा एमालेलाई पस्न नदिने हल्ला चलेको प्रसंगमा उनीहरुले यसलाई पत्याउनै नसकिने वताए । ‘उनीहरु अपना सरकार बनाउने भन्छ, देश बनाउने भन्दैन । अंगीकृतको कुरा गर्छ त्यहीको नेपालीको कुरा गर्दैन’ पाण्डवले भने, ‘तराईमा मैथिली र भोजपुरी भाषा बोल्छ तर हिन्दी भाषा बचाउ भन्छ । तराईमा मान्छेले सुख पाएको व मनमोहनजीको सरकारदेखि हो, एमाले विरोधी कोही छैन तराईमा ।’
पाण्डवले त अझ कम्युनिस्ट सिद्धान्तका अरु कुरा पनि जानेका रहेछन् । कम्युनिस्ट पार्टी किन बनेको भन्ने समेत परिभाषा लगाउँदै गफिन थाले उनी । उनी मैथिलीमै भन्नथाले– ‘हम सब कम्युनिस्ट बिचारसे जुटल्छी , आकाश धर्ती टुट जाते हमसब बिचारोसे दायावाया नहोव ।’ एमालेले चालिस बर्ष अघि नै देश भन्न सिकाएको, पहाडको दुख तराईले, तराईको दुख पहाडले बुझ्न सिकाएको उनले वताए ।



