अटो टेम्पोसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ बस्ने २४ वर्षीय सौरभ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मेचीनगर १२ खरेडाँगीस्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ ह ५३१० नम्बरको अटो टेम्पोले बाटो काट्न खोज्दा सोही दिशाबाट आउँदै गरेको बा ८१ प ८०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना परी गम्भीर घाइते भएका मोटरसाइकल चालक घिमिरेलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भइसकेको जनाइएको छ। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बिर्तामोड ८ बस्ने २७ वर्षीया सीता भट्टराई र टेम्पो चालक मेचीनगर १२ बस्ने ५५ वर्षीय राज फागो र टेम्पोमा सवार बुद्धशान्ति ३ बस्ने ७१ वर्षीय कुलबहादुर चेम्जोङ घाइते भएका छन्। घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। यता मोटरसाइकल र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।