काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज (मंगलबार) दिनभर मौसम गडबड रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सुदूरपश्चिम र तराई क्षेत्रबाहेक देशका सबै ठाउँमा आज मौसम धुम्म रहने सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले नेपालखबरलाई जानकारी दिए।
‘पश्चिमी वायु अहिले पूर्व सरेको छ, विराटनगरसम्म पुगेको छ,’ उनले भने, ‘त्यस्तो भीषण वर्षा त हुँदैन तर दिनभर गड्यागुडुङ भइरहने र चट्याङ पर्ने देखिएको छ।’
काठमाडौं उपत्यकाको मौसम पनि आज दिनभर यस्तै धुम्म रहने, पानी पर्ने खुल्ने भइरहेको सम्भावना रहेको मौसमविद् पौडेलले बताए।
सुदूरपश्चिमबाहेक देशका पहाडी भूभागमा आज वर्षाको सम्भावना रहेको उनको भनाइ छ। भोलि बुधबारदेखि मौसम खुल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।










