इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा आज पिकअप गाडीको ठक्करबाट जङ्गली अर्नाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२च ५९५८ नंको पिकअप गाडीको ठक्करबाट कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको अर्नाको मृत्यु भएको हो ।
चरिचरनका लागि आरक्षबाट बाहिर निस्केको अर्नाको आरक्षतर्फ जाँदै गरेको बेला ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
पिकअप सडकमा पल्टिँदा त्यसमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेमा चालक दाङको गडुवा गाउँपालिका–२ का १८ वर्षीय श्रीचन्द्र चौधरी, ४१ वर्षीय ज्ञानप्रसाद चौधरी र ३८ वर्षीय जीतराम चौधरी रहेका छन् । घाइतेको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । फाइल तस्बिर










