दमक /झापाको दमक नगरपालिकाले एकिकृत शहरी विकास योजना बनाउन शुरु गरेको छ । एशिया फाउण्डेशन तथा कमिटेड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकिकृत शहरी विकास योजना बनाउने निर्णय भएको र यस अनुसार काम अघि बढेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।

योजना निर्माणका लागि नगर स्तरीय नागरिक सल्लाहकार समिति र सवै वडा स्तरीय समितिहरु बनिसकेर काम प्रारम्भ भएको ओलीले जनाउनु भयो । उहाँका अनुसार योसंगै नगरप्रोफाइल समेत बन्नेछ । हामीले अहिलेसम्म ब्यवस्थित शहरी विकास योजना नबनाएका कारण समस्या भोग्दै आएका थियौ अब त्योबाट मुक्त हुनका लागि हामीले काम शुरु गरेका हौ, उहाँले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शहरी विकास योजनाले श्रोतको पहिचान सहित योजनाबद्ध विकास निर्माण र पर्यटकीय आधारहरु तय गर्ने बताईएको छ । हामीले परम्परागत रुपमा नै योजना बनाएर काम गर्दैछौ र यसलाइ ब्यवस्थित गर्न पनि एकिकृत शहरी विकास योजना आवश्यक रहेको थियो, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बताउनु भयो ।

यसैगरी नगरपालिकाले भारतीय राजदुताबासको आर्थिक सहयोगमा बिभिन्न योजनाहरु निर्माण गर्नका लागि सहमति प्रदान गर्ने निर्णय गरेको पाइएको छ । जनप्रतिनिधिहरु निर्वाचितल भएपछि पहिलो पटक भारतीय सहयोग लिएर तीनवटा योजना निर्माण गरिने नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेको पाईएको हो ।

दमक ९ स्थित सरस्वती मा.वि.ईट्टाभट्टाको भवन निर्माण, विज्ञान तथा फन पार्कको अडिटोेरियम भवन, दमक १० र दमक बहुमुखी क्याम्पसको भवन निर्माणका विस्तृत परियोजना विवरण बनाएर भारतीय दूतावासमा पेस गर्ने निर्णय भएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनु भयो ।