बझाङ, चैत १४ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा बुधबार एसईई परीक्षामा चिट चोराउने भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । हिजो गणित विषयको परीक्षामा चिट चोराउन खोज्ने ३ जना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेले ढुंगामुढा प्रहार गर्दा प्रहरी फायर गरेको हो ।

बान्निचौर माविको परीक्षा केन्द्रमा चिट चोराउनेहरुको भीड लागेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि नै ढुङ्गामुढा प्रहार भएको थियो । सोही क्रममा भिडलाई नियन्त्रण गर्न हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परीक्षा केन्द्रमा व्यापक चिट चोरी हुने गरेको सुचना आएपछि प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धिताल लगायतको टोली अनुगमनका लागि परीक्षा केन्द्रमा गएको थियो । ढुंगामुढा गर्ने आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले जानकारी दिए । एभरेस्ट दैनिक बाट