विराटनगर- प्रदेश १ को विशेष प्रहरी (ब्यूरो) टोलीले विप्लव समुहका मोरङ जिल्ला सदस्य नवराज भट्टराईलाई पक्राउ गर्न खोज्दा गम्भीर घाइते भएका छन् । मोरङको ग्रामथान गाँउपालिका २ मा गएराति प्रहरीले पक्राउ गर्न खोज्दा बाईकमा सवार उनी दुर्घटनामा परेका थिए ।

उनको गम्भीर अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार भट्टराईको आइसियुमा राखेर उपचार गरिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फाईल तस्बिर

ब्यूरो टोलीले उनलाई पक्राउ गर्न खोजेपछि तीव्र गतिमा भाग्न खोज्दा नालामा लडेको प्रहरी स्रोतले बतायो । उनलाई राति नै धरान लगेर उपचार शुरु गरिएको थियो । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले दुर्घटना भएको भनेर मौखिक जानकारी मात्र आएको बताए ।

‘बाईक अनियन्त्रित भएर लडेका एकजना व्यक्ति घाइते भएको भनेर जानकारी आएको छ’ उनले भने, 'अरु हामीलाई थाहा छैन ।' अस्पतालमा भने प्रहरीकै खर्चमा उनको उपचार भइरहेको बताइएको छ ।

यता विप्लव समुहका एक नेताले उनलाई ब्यूरो टोलीले प्रयोग गर्ने टाटा सुमो गाडीले पछाडिबाट ठक्कर दिएको दाबी गरेका छन् । विप्लवका कार्यकर्ता सुनसरी- मोरङबाट हरेक दिन पक्राउ गरेको भएपनि प्रहरीले गोप्य राख्ने गरेको छ । स्रोतका अनुसार एक हप्ता भित्र प्रदेश १ का विभिन्न जिल्लाबाट १० जनाभन्दा बढी पक्राउ परेका छन् । लोकान्तर बाट