उर्लाबारी । क्रसर उद्योगका कारण आजित बनेका उर्लाबारी नगरपालिका–१ का स्थानीयले क्रसर हटाउ अभियान चलाएका छन् । शुक्रबारदेखि स्थानीयबासीहरुले क्रसर उद्योग हटाउन माग गर्दै रिले अनसन सुरु गरेका हुन् । उनीहरुले सडकको छेउमा त्रिपाल टागेर रिले अनसन बसिरहेका छन् ।
स्थानीयले क्रसर सार्ने आदेश माग गर्दै उच्च अदालत विराटनगरमा रिट हालेका थिए । उर्लाबारी नगरपालिका–१ मा दुईवटा क्रसर उद्योग सञ्चालित छन् । थप तीनवटा क्रसर सञ्चालनको तयारी अवस्थामा छन् । दुईवटा क्रसर सञ्चालन हुँदा गाउँ छोड्नु पर्ने अवस्था भएपछि स्थानान्तरणका लागि आदेश मागसहित उच्चमा रिट निवेदन दिएको भएपनि हालसम्म कुनै सुनुुवाई नभएपछि स्थानीय आन्दोलित भएका हुन् । स्थानीय जगन्नाथ दाहालले क्रसर उद्योगका कारण पानीको मुहान सुक्ने, वातावरणमा प्रतिकुल असर पुग्ने, बर्षाको समयमा बस्ती डुब्ने समस्या हुने भन्दै तत्काल क्रसर उद्योग हटाउनु पर्नेमा जोड दिए । ‘दुईवटा क्रसरले गर्दा गाउँमा बस्न सक्ने अवस्था छैन ।’ उनले भने ‘फेरि तीनवटा थप्दैछन् ।’ मापदण्ड विपरित बस्तीकै सामुन्ने निर्माण गरेको क्रसर हटाउन आग्रह गर्दा स्थानीय र प्रदेश सरकारले नटेरेको स्थानीयको भनाई छ । क्रसरका कारण उर्लाबारी–१ का तिनखोप्रे, चार घरे, खयरबारी बस्तीका स्थानीयबासी मात्र होइन दुईवटा विद्यालय पनि प्रभावित छ । ‘राती घरमा सुत्न सकिदैन’ स्थानीय चन्द्रबहादुर दाहाल भन्छन् ‘सारदा माबि र नुनसरी आधारभूत विद्यालय पनि प्रभावित छन् ।’










