काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओली आजै काठमाडौंबाट विराटनगर जाँदैछन् । विराटनगर पुगेर प्रधानमन्त्री ओली मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसैगरी आइतबारै ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिसरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक/प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गरेर आजै मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी भोली चैत १८ गते बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन् ।

त्यसपछि दमकमै निर्माण गरिएको पशुपंक्षी हाट बजार उद्घाटन गर्ने र दिउँसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित चौन माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

दुई दिनमा लगभग एक आधा दर्जन कार्यक्रम भ्याएर प्रधानमन्त्री ओली सोमबार भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ । रातो पाटि बाट साभार