दमक । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन यौनर्बद्धक औषधिसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर हुसेन, २७ वर्षीय सादम हुसेन र वौद्ध–१ काठमाडौँ निवासी ३१ वर्षीय झिनचोक शेर्पा छन् । उनीहरुलाई औषधि बोक्न प्रयोग गरिएको भ्यान र दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
मे१ज ४०६३ नंको भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा चारैलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएकामध्ये ताहिर भ्यान चालक हुन् । यो सँगै प्रहरीले मे६प १०१६ नंको मोटरसाइकल र अर्काे एक थान भारतीय नम्बरप्लेट भएको वीआर३७ए २४९० को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।











