काठमाडौं। जेठ २ गतेदेखि बन्द भएको मलेसिया रोजगारी अन्तत सोमबारदेखि खुल्ने भएको छ ।अहिले कलिङ भिषा आएका कामदारहरुको लागि मात्र रोजगारी खुल्ने जनाईएको छ । गत कार्तिक १२ गते नेपाल र मलेसियाबीच भएको कामदार आदान प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारी अनुसार सोमबारदेखि यसअघि कलिङ भिसा आएका कामदारलाई अन्तिम श्रम स्वीकृति दिइने भएको हो।
कलिङ भिषाको अन्तिम स्वीकृति खुला भएको नेपाल वैदेशिक रोजगार ब्याबसायी संघका अध्यक्ष रोहन गुरुङले बताएका छन् । श्रम मन्त्रालयले कलिङ भिषा खोलिएको पत्र संघलाई उपलब्ध गराएको अध्यक्ष गुरुङले जाकारी दिए ।
केही समयअघि वैदेशिक रोजगार विभागले मलेसियाका लागि मेनपावर कम्पनीमार्फत कलिङ भिषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको थियो । सो क्रममा कलिङ भिषा प्राप्त गर्ने कामदार ९ हजार ८ सयभन्दा बढी रहेको बताइएको थियो । तर अहिले भने कलिङ भिषा आएका कामदारहरुको संख्या केहि घटेको श्रम मन्त्रालय श्रोतले बतायो ।
भोलिदेखि कलिङको लागि खुले पनि नयाँको लागि भने एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङले जानकारी दिए। उनले कलिङ भिषा आएकाहरुको अन्तिम स्वीकृतिको सहजिकरणका लागि संघमा सम्पर्क राख्न मेनपावर व्यवसायीहरुसँग आग्रह गरेका छन् ।










