काठमाडौँ -मलेसियाका रोजगारदाता कम्पनीबाट कलिङ भिसा प्राप्त नेपाली कामदारको अन्तिम श्रम स्वीकृति सोमवारबाट सुचारु हुने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई वैदेशिक रोजगार विभागले पत्र पठाएर श्रम स्वीकृतिका लागि तयार रहन आग्रह गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीले आफ्नो कार्यालयमा सम्पर्क गर्न म्यानपावर व्यवसायीलाई आग्रह गरेको संघका अध्यक्ष रोहण गुरुङले बताए ।
वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचलमा पनि पत्र लेखेर मलेसिया जानेहरूका लागि श्रम स्वीकृति दिन आग्रह गरेको छ । यो सँगै १० महिनासम्म बन्द भएको मलेसियाको रोजगारी खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति रोकेका थिए ।
बिष्टले बिचौलियाहरूले सिन्डिकेट लागू गरेर कामदारसँग अवैध रकम असुल गरेको भन्दै स्वास्थ्य परीक्षण र श्रम स्वीकृति बन्द गराएका थिए । मलेसिया जाने कामदारमाथि गैर-कानूनी रूपमा रकम असुल उपर गरेको भन्दै भीएलएन नामको संस्थामाथि सरकारले कानूनी कारवाही पनि गरेको थियो ।
गत कात्तिकमा मलेसियासँग श्रम सम्झौता भएतापनि कामदारका लागि अझै मलेसिया खुलेको थिएन । एक साता अघि मलेसियाले परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य परीक्षण मापदण्ड पठाएपछि मलेसिया खुल्ने दिशातर्फ अघि बढेको हो । लोकान्तर बाट










