२२ फागुन– राष्ट्रिय मानवाधिकार आयोगले नेकपा एमालेको पूर्वनिर्धरित मेची–महाकाली अभियानलाई अवरोध पुग्नेगरी कुनै पनि गतिबिधि नगर्न मधेसी मोर्चालाई आग्रह गरेको छ ।
आयोगले आज विज्ञप्ती प्रकाशित गरी भनेको छ – कुनैपनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानम सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्म विपरितको कार्य भएकोले यस्ता व्यबहारहरु तुरुन्त रोक्न, कुनैपनि राजनीतिक दलको पूर्वनिर्धारित कार्यक्रमहरुलाई प्रत्यक्ष अवरोध हुनेगरी कुनै पनि राजनीतिक गतिविधिहरु नगर्न, नगराउन र यस्ता घटना दोहरिन नदिन आयोग संयुक्त मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गर्दछ ।
आयोगले एउटा दलले आफ्ना कार्यक्रमहरु सार्वजनिक गरिसकेपछि सो कार्यक्रमहरु विथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त नहुने भन्दै हिंसात्मक बाटो अपनाउँदा २०६३ सालको चैत्रमा रौतहटको गौरमा भएको घटनालाई बिर्सन सकिदैन भनेको छ ।
आयोगले अभियानको क्रममा फागुन २० गते एमाले सप्तरीका सचिव शम्भु यादब र सहसचिव प्रतापनारायण चौधरीलाई मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेको र सांसद रञ्जु झा चढेको जीपमाथि ढंगामुढा गरेको घटनाको छानबिन गरी दोषीलाई कार्वाही गर्न सरकारलाई आग्रह गरेको छ ।



