काठमाडौं। बारा र पर्सा जिल्लामा हावाहुरीले २ हजार ११ घरमा क्षति पुगेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ। पहिलो पटक मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको नेपाल रेडक्रसले जनाएको छ।
बारामा १ हजार ५ सय दुई र पर्सामा ५ सय ९ परिवार प्रभावित भएका हुन्। मोवाइल एप्लिकेशनबाट यसरी तथ्यांक लिन स्थानीय वडाध्यक्ष, रेडक्रस र सुरक्षाकर्मीको टोलीले समन्वयमा काम गरिरहेको रेडक्रसले जनाएको छ ।प्रतिकार्यका काममा रेडक्रसका स्थानीय ९९ जना स्वयंसेवक खटिइका छन्। केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन्।
रेडक्रसले २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ। यो सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन्।
यसका अतिरिक्त ४९९ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ । यसमध्ये पर्साका विभिन्न प्रभावित क्षेत्रमा आज २४६ थान तारपोलीन र डोरी वितरण गरिएको रेडक्रसले जनाएको छ। त्यस्तै, ७५ जनालाई प्राथमिक उपचार तथा उपचारको लागि ओसारपसारमा सहयोग गरिएको छ ।
विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्याल र उपनिर्देशक रुद्रनारायण अधिकारी सर्वेक्षण तथा सहयोग गतिविधिको समन्वयका लागि प्रभावित क्षेत्रमा गएका छन्।










