काठमाडौं : काठमाडौंमा बुधबारदेखि विकास परिषदको बैठक बस्दैछ। राष्ट्रिय योजना आयोगले २५ वर्षे दिगो सोचसहितको १५ औँ पञ्चवर्षीय योजनलाई अन्तिम रूप दिने तयारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार विहान साढे ९ बजे बस्ने बैठकका सहभागी सरकारी अधिकारी, विषयविज्ञ र सरोकारवालाहरुले प्रस्तावित २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औँ योजनामाथि विस्तृत छलफल गर्नेछन्। परिषद बैठकले परिमार्जन र कार्यान्वयनका लागि विशेष निर्देशन दिएपछि मात्र सरकारले नयाँ योजना स्वीकृत गर्नेछ।
बुधबार र बिहिबार बस्ने दुई दिने विकास परिषद्को बैठकमा सबै मन्त्रीहरू, योजना आयोगका उपाध्यक्ष, सभामुख, मुख्यमन्त्रीहरू, संसदीय समितिका सभापतिहरू, निजी तथा सहकारी क्षेत्रका प्रतिनिधिहरू तथा सरकारले परिषद् सदस्यमा मनोनित गरेका २५ जना सदस्यहरूको उपस्थिति रहने उल्लेख गरिएको छ। सरकारले अघि सारेको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई साकार पार्ने गरी योजना तर्जुमा गरको दाबी योजना आयोगको छ। १५ औँ योजनाको लक्ष्य आगामी पाँच वर्षमा अधिकतम ९७ खर्ब ७७ अर्ब र औषत ८८ खर्ब रुपैयाँ लगानी गर्ने रहेको छ।










