विराटनगर- मोरङ र झापामा शनिवार दिउँसो पानीसँगै परेको चट्याङ लागेर २ जनाको ज्यान गएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ बाँसबारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । सरस्वती शिक्षा सदन बाँसबारी मोरङमा कक्षा तीनमा अध्ययनरत १० वर्षीया आराधना राजवंशीको ज्यान गएको हो ।
दिउँसो करीब १ बजेको समयमा चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले घर बाहिर खेलिरहेको अवस्थामा एक्कासी परेको चट्याङ लागेर मृत्यु भएको बताए ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउतको पनि चट्याङ लागेर ज्यान गएको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । घाइते दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ ।










