नेकपा एमालेका नेता लालवावु पण्डितले बन्दुकसँग नडराएका आफूहरु दुई/चारजना मधेसी मोर्चाका कार्यकर्ताले देखाएका लाठी देखेर नडराउने बताएका छन्। सुनसरीको इनरुवामा सोमबार दिउँसो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पण्डितले भने,‘हिजो कसैले बन्दुक तेर्साउँदा नडराएका हामीलाई दुई÷चारजनाले लाठी देखाउँदैमा हामी डराउँदैनौं। यो मधेसी मोर्चाले बुझे हुन्छ।’

नेता पण्डितले आफ्नो पार्टी नुन खाएको कुखुरा नभएको भन्दै नजिस्काउन मधेसी मोर्चालाई चेतावनी दिए। उनले भने,‘एमाले नुन खाएर झोक्रिएको पार्टी होइन। लाठी देखाएर तर्साउन र धक्याउन छोडे हुन्छ।’ उनले एमालेले आतंक स्वीकार नगर्ने भन्दै मधेसी मोर्चालाई विरोध प्रदर्शन गरेर सभा नविथोल्न आग्रह गरे। उनले एमाले एउटा कुनै जातिको पार्टी नभएको बताए। उनले एमालेले स्थानीय निकायको निर्वाचन, संविधान कार्यान्वयन र समृद्ध नेपाल चाहेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा एमाले नेतृ भगवती चौधरीले एमाले थारु, आदिवासी जनताति, मुस्लिम सवै समुदायको पार्टी भएको बताइन्। उनले सवै जनताले मत दिएरएमालेलाई पहिलो नम्बरको पार्टी बनाउनु पर्ने बताइन्। उनले अबको निर्वाचनबाट एमाले मधेसको सवैभन्दा ठूलो पार्टी बन्ने दाबी पनि गरिन्। एमालेको र्‍याली सुनसरीबाट इनरुवा आउनेक्रममा मधेसी मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए।