काठमाडौँ – मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले ‘एकपक्षीय र प्रायोजित मनसाय राखेर मौनता साधेको’ आरोप लगाएकी छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ।
राजदूत शेर्पाका निजी चालक वाङ्छु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी लक्कीमाथिका आरोपबारे छानबिन गर्न मन्त्रालयले विशेष समिति गठन गरे पनि त्यसको प्रतिवेदन सार्वजनिक गरेको छैन ।
‘चालक वाङ्छुका अनधिकृत गतिविधिसँगै उनले दूतावास छाडेर भाग्नासाथ गत वर्ष मंसिर ५ मै परराष्ट्र मन्त्रालयमा मैले सबै विषय अवगत गराएकी हुँ,’ शेर्पाले भनिन् । उनले चालक वाङ्छु र उसकी श्रीमती फुल्हमले अस्ट्रेलिया लैजाने भन्दै ६ जना नेपालीसित २० लाख रुपैयाँभन्दा बढी ठगेको भन्नेबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको विषयमा राजदूत हुँदै आफूलाई जानकारी भइसकेको बताइन् । उनले आफ्नो नियुक्तिपछि अनेकन प्रपञ्च भएको भन्दै त्यसबारे पुस्तक लेख्न लागेको बताएकी छिन् । ‘मेरो नियुक्तिपछि सुरू भएको प्रपञ्च र नियतभित्र धेरै तथ्य छिपेका छन्, यी कुराबारे पुस्तक लेख्दै छु’ उनले भनेकी छिन् ।










