
आश्विन ८, २०७३- बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि गरिएको छैन ।
यो नाकाबाट खुलेआम यस्तो कारोबार भइरहेको छ । नेपालको सीमा प्रहरी चौकी रहेको काडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटर टाढाको नेपाल–चीन सीमा वरिपरि ठाउँ–ठाउँमा अस्थायी टहरा नै बनाएर तस्करले खुलेआम यस्ता सामान ओसारिरहेका देखिन्छन् ।
खुला हिमाली पाटनमा प्रतिबन्धित जडीबुटी सुकाइएका हुन्छन् भने तिब्बत लैजान अस्थायी टहराभित्र बोरामा राखिएका हुन्छन् । खच्चर, भेडा, भरिया लगाएर दिउँसै निर्धक्क तस्करी गर्नेहरूको ताँती नै देखिन्छ ।
काडा–३ स्थित काकरकोटको ठूलो चौरमा ७ वटा पालले ढाकेर ठूलो मात्रामा जटामसी सुकाइएको थियो । हुम्लाका एक व्यापारीले बझाङ र दार्चुलाका विभिन्न गाउँबाट मजदुर लगाएर संकलन गरेको उक्त जडीबुटी एक सय क्विन्टलभन्दा बढी भएको काडाका मंगल बोहराले बताए । ‘यो सबै तिब्बत लैजान ठिक पारिएको हो,’ उनले भने ।
नेपाल–चीनको सिमा स्तम्भ रहेको उरै भञ्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि लहरै २ वटा ठुला पाल टागिएका छन् । बाहिरबाट हेर्दा अस्थायी होटल जस्तो लाग्ने पाल बाहिर २ युवक पहरा दिइरहेका थिए । भित्र पसेर हेर्दा सयांै बोरामा राखिएका कटुकीका खात देखिए ।
हुम्लाका ती युवकले केही दिन पहिला यस्ता पालको संख्या ७ वटा रहेको र अरु पालको कटुकी खच्चरमार्फत तिब्बत पुर्याइसकेपछि पाल हटाइएको बताए । ‘तिब्बत ढुवानी गर्ने जिम्मा लिएर हामी यहा बसेका हौं । उनिहरूले २० वटा खच्चर भाडामा लिएका छन् । बाकी कटुकी ढुवानी गर्न एक हप्ता जति लाग्ने र ढुवानी सकेपछि पाल हटाएर ताक्लाकोट जाने उनले बताए । भदौको २५ गतेसम्ममा झण्डै डेढ सय क्विन्टल कटुकी तिब्बत पुर्याइसकेको र करिब ७० क्विन्टल ढुवानीका क्रममा रहेको उनले बताए ।
काकरकोटबाट झण्डै २ घण्टा हिडेपछि तिब्बतको बैंस भन्ने ठाँउका ३ ओडारमा बसेका बझाङको व्यासी र कैलास गाविसका ४० भरिया रातो च्याउसहित भेटीए । हुम्लाका कुन्साङ लामाले खाना खाएर दैनिक प्रतिकिलो १ हजारका दरले भाडा दिने गरी पठाएको उनिहरूले बताए । लामाको रातो च्याउ तिब्बत पुर्याएर दार्चुला खण्डेश्वरीका ४५ भरिया केही दिन पहिले नै फर्किसकेको व्यासीका एक भरियाले बताए ।
बाटोमा भेटिएका यी उदाहरण मात्र हुन । यस अघि साउन र भदौमा यो बाटो भएर सयौं क्विन्टल सतुवा, वनलसुन, पांचऔंले लगायतका विभिन्न जडीबुटी तिब्बत पुगिसकेको तिब्बती सिमा सुरक्षा पोष्ट नजिक होटल सञ्चालन गरेर बसेका हुम्लाका बहादुर लामाले बताए । ‘यसमा अचम्म मान्नु पर्ने कारण नै छैन, यो वर्ष त धेरै कम मात्र जडीबुटी आएको हो’ उनले भने, ‘बर्सेनि यत्रो मात्रामा जडीबुटी ल्याउछन, माटोको फल न हो कती टिक्छ र अव सकिन लाग्यो होला त्यही भएर यो वर्ष पहिला भन्दा धेरै कम आएको छ ।’
अव्यवस्थित संकलनका कारण लोप हुने अवस्थामा पुगेको भन्दै जिल्ला परिषदले बझाङमा २ वर्षका लागी सतुवा, कटुकी र वनलसुनको संकलनमा रोक लगाएको छ । पांचऔले विश्वमै लोपोन्मुख प्रजातीमा रहेकाले यसको संकलनमा सरकारले नै प्रतिबन्ध लगाएको छ । रातो च्याउ ओसारपसारको सम्बन्धि प्रस्ताव मन्त्रीपरिषदमा विचाराधिन रहेको बझाङका जिल्ला वन कार्यालय बझाङले जनाएको छ । उत्तरी नाका भएर निकासी भैरहेको जडीबुटीका बारेमा जिल्ला वनलाई कुनै जानकारी नभएको र तस्करी भएको भनिएका कुनै पनि जडीबुटीको जिल्ला वनले संकलन र छुट पुर्जी समेत कसैलाई नदिएको जिल्ला वन अधिकृत असोक कुमार श्रेष्ठले बताए ।
रक्त चन्दनको ट्रान्जिट
२०६८ चैतमा बझाङ प्रहरीले तिब्बततर्फ लैजादै गरेको अवस्थामा रिठापाटाको बारिल भन्ने ठाउबाट करिब ३५ क्विन्टल रक्त चन्दन सहित ८६ भरियालाई पक्राउ गर्यो । ती सबै भरिया बाजुराका थिए । त्यही वर्ष असोजमा डेढ सयभन्दा बढी भरिया लगाएर करिव ५० क्विन्टल रक्त चन्दन तिब्बत पुर्याइएको सार्वजनिक भएको थियो । बझाङका भरियाबाट खुलासा भएको उक्त रक्तचन्दन तस्करी काण्डमा बझाङको प्रहरी प्रशासनको पनि मिलेमतो रहेको आसंका गरिएका थिए ।
त्यसयता यो नाका भएर तिब्बत पुग्ने रक्त चन्दन बरामद भएको छैन । तर प्रत्येक वर्ष रक्त चन्दन यो नाका भएर तिब्बत आउने गरेको स्थानियबासिन्दा तथा बाटोमा होटल व्यवसाय गरिरहेकाहरू बताउछन् । ‘यो वाटो भएर रक्त चन्दन आउन थालेको ६/७ वर्ष जति भयो’ तिब्बतको लुपु भन्ने ठाउमा ११ वर्ष देखी होटल सञ्चालन गरिरहेका हुम्लाका एक व्यवसायीले भने, ‘पहिला पहिला बाघका छाला, कस्तुरी जस्ता सामान बढी ल्याउथे, आजकाल रक्तचन्दन बढी आउछ ।’
गत वर्ष मात्र बाजुरा साप्पाटाका १ सय २३ जना भरिया प्रयोग गरेर झण्डै ३७ क्विन्टल रक्त चन्दन तिब्बत पुर्याइएको उनले बताए । प्राय बाटोका सबै होटलहरू उठिसकेपछि दशै र तिहारको आसपास तथा चैतको अन्त्यतिर रक्त चन्दनको ओसार पसार बढी हुने गरेको उनले बताए ।
तातोपानी र रसुवाको नाकामा कडाइ हुन थालेपछि तस्करहरूले बझाङको नाकालाई प्रयोग गर्न थालेका हुन । तिब्बतको भुमिमा पुर्याइ सकेपछि यसको खुला व्यापार हुने गर्छ । बझाङको नाकामा कमजोर सुरक्षा व्यवस्थाका कारण रक्तचन्दन तश्करी गर्न सजिलो हुने भएकाले तस्करहरूले यो नाकाको प्रयोग बढाएको नेपाल–चीन उद्योग व्यापार संघ अन्र्तगतको कैलास व्यापार संघका सचिव जगत तामाङले बताए ।
बाघको छालामा कडाइ, कस्तुरीको विना महंगियो
केही वर्ष पहिले निर्वाध रुपमा बाघको छाला हातमै बोकेर मोलमोलाई गर्न सकिने ताक्लाकोट क्षेत्रमा अहिले कडाइ गरिएको छ । ताक्लाकोट प्रशासनले अन्तर्राष्ट्रिय दवावका कारण बाघको छाला खरिद विक्रीमा प्रतिबन्ध लगाएपछि २ वर्ष यता यो नाका भएर आउने बाघको छाला र हड्डीको कारोवार घटेको जानकारहरू बताउँछन ।
गत वर्ष मात्र बाघको छाला र हड्डीको मुख्य खरिदकर्ताका रुपमा रहेका एक जनालाई तिब्बत प्रशाशनले पक्राउ गरेपछि यसको कारोबारमा निक्कै कमी आएको कैलास व्यापार संघका सचिव तामाङले बताए । ‘पहिला पहिला धेरै बेचेको सुनिन्थ्यो, एक वर्ष जति भयो त्यस्तो खालको मान्छे ताक्लाकोटमा भेटिएको छैन’ उनले भने, ‘पहिला जस्तो सजिलो छैन, गर्नेले त भित्र भित्रै गरेकै छन् ।’
बाघको छाला र हड्डीको कारोबार घटे संगै कस्तुरीको विनाको मुल्य भने गत वर्ष भन्दा निकै बढेको छ । ताक्लाकोटमा गत वर्ष प्रतितोला ३५ हजार सम्म किनबेच भएको कस्तुरीको विना यो वर्ष ५५ हजारदेखि ६५ हजार रुपियासम्म कारोबार भएको ताक्लाकोटमा ११ वटा कस्तुरीको विना बेचेर फर्किएका बझाङ काडाका एक व्यक्तिले बताए ।
उनले ५ वटा विना बझाङको दातोला, ४ वटा सुर्मा र दौलिचौर गाविसका शिकारीबाट खरिद गरेको बताए । यसैगरि २ वटा विना काडा गाविसका शिकारीबाट प्रतितोला २५ देखी ३० हजारमा खरीद गरेको उनले बताए । कस्तुरीको व्यापारमा बझाङ र हुम्लाका करिब ७ व्यापारी छन् । उनिहरूले यो वर्ष बझाङबाट मात्र ४५ वटा विना संकलन गरेर तिब्बत पुर्याएको उनले बताए ।
नियन्त्रण गर्न विषेश व्यवस्था आवश्यक
बझाङको उरै नाकामा भन्सार कार्यालय खोलिनु पर्ने र सिमा सुरक्षाका लागि विशेष खालको सुविधासहित ससस्त्र प्रहरीलाई खटाइनु पर्ने माग गर्दै बझाङ जिल्ला परिषदले पटक पटक निर्णय गरेर केन्द्रमा पठाउदै आएको छ । तर यसको सुनुवाई नहुदा उरै नाका तस्करका लागि सहज वन्दै गएको बझाङका अधिकारीहरू बताउँछन ।
भन्सार कार्यालय र प्रहरीको उपस्थिती राम्रो भए जिल्ला वनले पनि आफ्नो पोष्ट खडा गरेर प्रहरी प्रशासनसंग मिलेर काम गरेमा तस्करी नियन्त्रण गर्न सहज हुने जिल्ला वन अधिकृत असोक कुमार श्रेष्ठले बताए । ‘बर्सेनी ठुलो मात्रामा वन्यजन्तुका अंग र जडीबुटी ताक्लाकोट जान्छ भन्ने त हामीले पनि सुन्छौं,’ उनले भने, ‘तर हाम्रो जनशक्ती र सिमा सुरक्षा चौकीमा अहिले भएका प्रहरीकै भरमा यो नियन्त्रण सम्भव छैन ।’
सिमामा सरकारको उपस्थिती शुन्य हुदा बर्षेनी करोडौं राजश्व समेत गुमिरहेको वताउदै उनले भने, ‘प्रहरीको उपस्थिती बाक्लो बनाउने सुराकी परिचालन गर्ने र सरकारका अन्य निकायको पनि उपस्थिती हुने हो भने नियन्त्रण गर्न पनि गाह्रो छैन ।’

अहिलेको सिमा सुरक्षा चौकी रहेको ठाउ धुलीबाट सिमा सम्म पुग्नै ३ दिन लाग्छ । तस्करीको सुचना पाए पनि प्रहरी पुग्दा सम्म तस्कर भागिसक्ने भएकोले सिमामा हुने गैर कानुनी गतिविधि रोक्न सिमानजिकै प्रहरीको उपस्थिती हुनुपर्ने बझाङका प्रहरी प्रमुख डिएसपी नेरन्ख्र चन्दले बताए ।
‘हिमाली भुभाग भएको कारण अहिलेकै सुविधामा त्यहा कोही पनि बस्न सक्ने अवस्था हुँदैन,’ उनले भने, ‘विशेष सुविधा सहित बाह्रै महिना सिमामा प्रहरी रहने व्यवस्था सरकारले गरेमा गैर कानुनी गतिबीधी रोक्न असम्भव छैन ।’ यसको नियन्त्रणका लागि जिल्लाका संयन्त्रले मात्र पहल गरेर नहुने र केन्द्र स्तरबाट चासो देखाउनु पर्ने डिएसपी चन्दको भनाइ छ ।
तस्बिरहरु : बसन्तप्रताप सिंह/कान्तिपुर
(आज को कान्तिपुर मा खबर रहेको छ । )



