मलेसिया । मलेसियामा गम्भिर घाईते भएर अचेत अवस्थामा रहेका एक नेपाली युवालाई स्वदेश पठाईने भएको छ । मलेसियाको जोहोरबारुस्थित जेसिवाइ कम्पनीमा कार्यरत महोत्तरीका बद्री थापामगर ७ महिनाअघि कम्पनीको काम गर्नेबेला दुर्घटनामा परेर गम्भिर घाईते भएका थिए।
घाईते थापाको हस्पिटलमा टाउकोको अपरेसन गरिएपनि निको भएको थिएन। निको नभएपछि उनलाई होस्टेलमा राखिएको थियो । घाईते थापा अहिलेसम्म पनि अचेत अवस्थामा रहेको सोही कम्पनीमा कार्यरत दाङका कृष्ण रोकाले डिसी नेपाललाई बताए ।
उनको उपचारको लागि जेसिवाइ कम्पनीमा कार्यरत श्रमिकहरूले सहयोग सङ्कलन गरेका थिए । अहिले उनलाई नेपाल फर्काउने क्रममा पनि कम्पनीमा कार्यरत श्रमिकहरूले २ हजार ३६ मलेसियन रिङ्गेट सहयोग सङ्कलन गरेका छन् ।
अचेत अवस्थामा रहेका थापालाई मङ्गलबार एक जना साथी र एक मलेसियन डाक्टरसहित नेपाल पठाउन लागिएको सोही कम्पनीमा कार्यरत कृष्ण रोकाले जानकारी दिएका छन्।










