काठमाडौँ । विश्व साईकल यात्री खगबहादुर खत्री काठमाडौं आइपुगेका छन् । आइतबार काठमाडौँ ओर्लिएका खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।
विमानस्थलमा खत्रीलाई स्वागत गर्न उनको विश्व साईकल यात्रा अभियानमा विशेष सहयोग पुर्याइरहेका विभिन्न व्यक्ति तथा प्रायोजकहरू पुगेका थिए ।
खत्रीको स्वागतमा एनआरएनए आइसीसी सदस्य मनोज गोरखाली, एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविण गुरुङ, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, जनसवाल राष्ट्रिय दैनिककासम्पादक रामजी बगाले, हिमालयन इभेन्टस प्रालिका अध्यक्ष सविन घिसिङ लगायतका व्यक्तित्वहरू विमानस्थल पुगेका थिए ।

विश्वलाई शान्तिको सन्देश दिने र विश्वभर नेपाली माटोको सुगन्ध छर्ने अभियानमा विगत लामो समयदेखि निरन्तर सक्रिय अभियन्ता एवं शान्तिदूत विश्व साईकल यात्री खगबहादुर खत्री (यास्मिन मामा) ले विगतमा एसियाको प्रमुख देशहरुमा आफ्नो सन्देश सहित यात्रा सकेका थिए । अहिले फेरि उनले कतारबाट टर्की, टर्कीबाट नाइजेरिया, नाइजेरियाबाट घाना, घानाबाट युगाण्डा, युगाण्डाबाट इथियोपिया हुँदै पुनः दोहा कतार पुगेर आइतबार नेपाल आइपुगेका हुन् ।
उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दे साईकल यात्राको मूल उद्देश्यबारे भने ‘विश्वभरका मानिसहरूबीच विश्व शान्ति र भाइचारा अभिवृद्धि गर्ने हो । आफ्नो देशको विभिन्न जाति, धर्म, पेसा, प्रकृति र भूगोलको कला र संस्कृतिलाई हृदयमा बोकेर विश्व शान्ति र मानवीय भाइचाराको सन्देश फैलाउनै नै मेरो मूलभूत उद्देश्य हो । नेपालको गौरवपूर्ण इतिहासलाई विश्वमा पु¥याउने र नेपाललाई शान्तिभूमिको रूपमा पर्यटन अभिवृद्धि गर्ने पनि मेरो उद्देश्य हो । संसारभरका मानिसहरू पैसाको निमित्त एकअर्काबीच लडाइ लडिरहेको बेला शान्ति र भाइचाराको सन्देशमार्फत सबैमा प्रेमभाव जागृति गराउने नै मेरो अन्तर उद्देश्य हो । ’










