विराटनगर- मंगलवार बिहान करीब १० बजेको थियो, एक हुल युवाहरू नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको चोकमा देखिए । व्यापक प्रहरी परिचालन गरिएको थियो भने जिल्ला प्रशासन कार्यालयमा छिर्नका लागि सोधिखोजी गरेर मात्र प्रवेश दिइएको थियो ।

सोमवारसम्म जिल्ला प्रशासन कार्यालयमा वैशाख १७ गतेसम्मको लागि टोकन बाँडिएको थियो । झण्डै ३५ सयले नागरिताको लागि निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका उनीहरू आज बिहान आउँदा कार्यालय भित्र प्रवेश नै नपाएपछि आक्रोशित देखिन्थे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडि भेला भएर नाराबाजी गर्दै गरेका व्यक्तिहरूलाई प्रहरी र प्रशासनले सम्झाएर पठाएको थियो । तर पनि उनीहरू उत्तेजित हुनसक्ने भएपछि प्रहरी परिचालन गरिएको हो ।

कटहरी गाउँपालिका १ मोरङकी भुटनीदेवी महतोको टोकन अनुसार आज नागरिकता पाउने दिन हो । उनी आएर सिधै कार्यालय छिर्न खोजेकी थिइन् । प्रवेश नपाएपछि उनी चौतारीमा आफ्ना कुरा सँगै आएका गाउँलेलाई सुनाउँदै थिइन्, ‘नागरिकता नभएर सबै काम चौपट भयो ।’ आज नागरिकता पाउने भएपछि ढुक्क भएर आएकी उनलाई जिल्ला प्रशासन कार्यालयले किन नागरिकता नदिने भयो भनेर समेत जानकारी थिएन ।

नागरिकताकै लागि आएका विराटनगर महानगरपालिका वडा नम्बर ११ का दुर्गा साहले लामो समयदेखि नागरिकता नपाएर कुनै काम गर्न नपाएको बताउँदै नागरिकता वितरण नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री तथा गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका उनले उच्च शिक्षाबाट समेत बञ्चित हुनु पर्दाको पीडा आफूलाई मात्र थाहा भएको सुनाए । उनले संविधानमा व्यवस्था भए अनुसारको नागरिकता दिने व्यवस्था मिलाउन आग्रह गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले केही व्यक्तिहरूले बाहिर होहल्ला गरेको भएपनि सम्झाएर पठाउने काम भएको बताए । अदालतको आदेश विपरीत नागरिकता वितरण गर्न नसकिने भएपनि हिजैको मितिसम्म पाउनेले पाइहाले आज बिहानैदेखि जन्मका आधारमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयनमा रोकिएको केसीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी केसीका अनुसार सोमवारसम्ममा ८ सय बढीले नागरिकता लिइसकेका छन् । त्यस्तै नागरिकताको माग गर्दै करीब ३ हजार ५ सय बढीको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको छ । ‘वैशाख १७ गतेसम्मको लागि टोकन नै दिइसकिएको थियो,' प्रजिअ केसीले भने, 'अब अर्को आदेश नआउँदासम्मको लागि रोकिएको छ ।’

मोरङ जिल्लामा करीब १० हजारको हाराहारीमा जन्मसिद्ध नागरिकता पाउनेको तथ्यांक भएको हुन सक्ने अनुमान गरिएको छ ।

https://www.facebook.com/lokaantar/videos/2251040908442058/

source: lokaantar