काठमाडौं । सार्वजनिक सवारीसाधन चालकले मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउनेलाई अब कारबाही हुने भएको छ । यसअघि मादक पदार्थ सेवन गरे कारबाहीमा परिने गरेकामा त्यसलाई थप कडाइ गर्दै सूर्तिजन्य पदार्थसमेत समेटेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात विधेयक, ०७५’ मा चालक र परिचालकको कर्तव्य तोकिएको छ । मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने, यौनजन्य दुव्र्यवहार गर्ने र कानुनले निषेध गरेका अन्य क्रियाकलाप गर्ने चालकमाथि पहिलोपटक हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनुगमनका क्रममा दोस्रोपटक पनि सोही कसुर गरेको भेटिए सेवाबाटै हटाउन सम्बन्धित कम्पनी वा संस्थालाई सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा छ । यसैगरी, सार्वजनिक सवारी साधनमा अश्लिल फोटो टाँस्ने, अश्लिल गीत बजाउने, जथाभावी पार्किङ गर्ने, निर्धारित रुटमा सवारी साधन चलाउन इन्कार गर्ने चालकमाथि पनि जरिवाना गरिनेछ । नियमविपरीत यस्ता कार्य गर्ने चालकमाथि पहिलोपटक पाँच सय र दोस्रोपटक एक हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

बढी भाडा लिए कारबाही – महानगरले सार्वजनिक यातायातमा बढी भाडा लिएमा परिचालकहरूलाई कारबाहीको प्रावधान पनि राखेको छ । परिचालकले यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने, तोकिएको भाडादारभन्दा बढी रकम लिए, भाडाबाहेकको रकम फिर्ता गर्न आलटाल गरे, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने, निर्धारित पोसाक नलगाई काम गरे कारबाहीमा पर्नेछन् । यसैगरी, यात्रु, चालक तथा अन्य व्यक्तिसँग शिष्ट, शालिन र सभ्य व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्ता नियमविपरीत काम गरे पहिलोपटकमा दुई सय, दोस्रोपटक गरेमा पाँच सय रुपैयाँ जरिवाना गरिने भएको छ । यसैगरी, परिचालकले पनि मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएमा सोझै पाँच सय वा हटाउन सिफारिस गर्नेसम्मका कुरा उल्लेख छन् ।