काठमाडौ । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक स्प्रिङ अफर ल्याएको छ । उक्त अफरअन्तर्गतको सेवा ३० देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । यसअघि उपलब्ध विन्टर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर ल्याइएको हो ।
यसमा एक घण्टा अनलिमिटेड प्याक रहेको छ । जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टिभ भएपश्चात् एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रूपमा प्रयोग गर्न सक्नेछन् । अल टाइम डाटा प्याकअन्तर्गत जीएसएम प्रिपेड÷पोस्टपेड तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याकअन्तर्गत १२ रुपैयाँदेखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यसअन्तर्गत २८ एमबीदेखि १२ जीबीसम्मका प्याकेज खरिद गर्न सकिनेछ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि एक दिनदेखि ४२ दिनसम्म हुनेछ । साथै, इकोनोमी प्याकको रूपमा एक दिनका लागि २५ रुपैयाँको सय एमबी, ७ सात दिनका लागि सय रुपैयाँको ५ सय एमबी र २८ दिनका लागि ५ सय रुपैयाँको ४ हजार ५ सय एमबी भोल्युमको इको प्याकसमेत उपलब्ध गराइएको छ ।
डे डाटा प्याकअन्तर्गत नौ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिनेछ । नाइट डाटा प्याकमा एक रातका लागि नौ रुपैयाँमा १२५ एमबी र सात रातका लागि ४५ रुपैयाँमा ६३० एमबी डाटा प्रयोग गर्न सकिनेछ । अनलिमिटेड नाइट डाटा प्याकमा अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत एक रातका लागि १५ रुपैयाँमा र सात रातका लागि ८५ रुपैयाँमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिन्छ । सो प्याकअन्तर्गतको डाटा राति ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिनेलगायतका थुप्रै योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ ।










