झापा । नयाँ वर्षको सुरवातसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व सुरु भएको छ। नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया, गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले  तीन दिनसम्म सिरुवा पर्व मनाउने गर्दछन्। कोच समुदायमा यो पर्वले निकै महत्त्व बोकेको छ।

वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ। वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ्गले खेलेर समापन गरिने प्रचलन रहेको कमल गाउँपालिका–६ का आदिवासी समुदायका अग्रज नित्यानन्द ताजपुरियाले बताए परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरुमा सामुहिक रूपमा मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिवसमेत रहेका ताजपुरिया बताउँछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ। झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दै आएका राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन्। पर्वको अवसरमा यी जिल्लामा विशेष सांस्कृतिक कार्यक्रमसहित सिरुवा मेला पनि लाग्ने गर्दछ। पूर्वका तीन जिल्लामा करिब तीन लाख ५० हजार कोच समुदाय रहेको अनुमान गरिएको छ। सिरुवाका अवसर पारेर जिल्लाको आदिवासी कोच बाहुल क्षेत्रका गौरादह, गौरीगञ्ज, कचनकवललगायतका स्थानीय सरकारहरुले वैशाख ३ मा सार्वजनिक बिदासमेत दिएका छन्। रासस