गुल्मी, बैशाख ४
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही दिन अघि भाँचिएको पक्की पुलको निरीक्षण गर्नुभएको छ ।
गृहजिल्ला गुल्मी भ्रमणको क्रममा मुसिकोट नगरपालिका ७ झेदी पुलमा पुगेर मन्त्री बिष्टले ठेकेदार र सरकारी प्राविधिकको लापर्वाहीका कारण ढलानलगत्तै भाँचिएको पुलको निरीक्षण गर्नुभएको हो ।निरिक्षणको क्रममा उहाँले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको भन्दै छिटोभन्दा छिटो सरकारी पक्षबाट यसको अनुगमन गरेर कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिनुभयो ।
‘ज्यादै महत्वपूर्ण स्थानमा मुस्किलले पुल पारेको हो, यो दुर्भाग्य देख्नु पर्यो,’ मन्त्री बिष्टले भन्नुभयो । आफुले पनि यो बिषयमा विभिन्न निकाय र निर्माण कम्पनीसंग समन्वय गरिरहेकाले त्यहि ठाउँमा पुन पुल निर्माण गरिने जानकारी पनि उहाँले दिनुभएको छ । बल्ल बल्ल निर्माण भएको पुल ढलेकाले अव बन्दैनकी भन्ने चिन्ता नगर्न स्थानीयबासीलाई उहाँले आग्रह समेत गर्नुभयो ।
निरिक्षणकै क्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफुहरुले निर्माण व्यावसायीलाई कमजोर संरचनाको विषयमा पटक–पटक जानकारी गराए पनि अटेर गरेका कारण पुल भत्किएको बताउनु भयो । ‘५८ मिटरको बिचमा कतै पिल्लरनै थिएन, त्यहि बेलै सचेत बनाएका हौ, अहिले पुल ढलेको देख्नु पर्यो,’ मेयर सापकोटाले भन्नुभयो ।
मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेदी पुल गत आइतबार भत्किएको थियो। ढलान गरेको २ दिनमै पक्की पुल भत्किएपछि पाँच जना घाइते समेत भएका थिए। भत्किएको पुलको विज्ञ टोलीले समेत अनुगमन तथा निरिक्षण गरेको छ। स्थानीय सडक पुल कार्यक्रमका रबिन्द्र तन्डुकार, पुलका डिजाइनर विश्व वल, पुर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख बिनोद चौधरी लगायतको टोलीले पुलको अवस्थाको बारेमा स्थलगत अध्ययन गरेर फर्किएको छ ।
सो पुल ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा लिएको थियो। पुल ०७५ असार मसान्तमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। अहिले यो पुल प्रदेश नं ५ अन्तरगतको भौतिक पुर्वाधार विकास कार्यालय गुल्मीले हेर्ने गरेको छ।











