काठमाडौं, ४ वैशाख । सरकारले निजामती कर्मचारीको तलब बढाउने भएको छ । पछिल्लो दुई वर्षदेखि कर्मचारीको तलब नबढेकाले आगामी आर्थिक वर्षको बजेटमा तलब बढाउने तयारी भएको हो ।

स्रोतका अनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारीको तलब बढाउने गृहकार्य सुरु गरेका छन् । निजामती कर्मचारीलाई खुसी राख्न पनि तलब बढाउनै पर्ने बाध्यता आइपरेको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री खतिवडालाई ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्थमन्त्री खतिवडाको यो अन्तिम बजेट प्रस्तुति हो । उनको राष्ट्रिय सभाको सदस्य पद आगामी चैतसम्म मात्र रहेकाले उनले लोकप्रियता पाउन पनि बजेट बढाउने तयारी गरेका हुन् । बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन दबाब परेको छ ।

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले तलब वृद्धिका लागि छलफल र लबिङ सुरु गरिसकेको छ । युनियनका अध्यक्ष पुण्य ढकाल प्रधानमन्त्री ओली निकट हुन् । उनले बलियो लबिङ सुरु गरेका छन् ।

पछिल्लो दुई वर्षदेखि तबल नबढेकाले नेपाल राष्ट्र बैंकको मूल्यवृद्धि सूचकांक र देशले निर्धारण गरेको समृद्धिको लक्ष्यलाई पूरा गराउन सघाउने गरी कर्मचारीको तलब बढाउनुपर्ने भन्दै लबिङ सुरु भएको छ ।

कर्मचारीको तलब वृद्धि भएसँगै महँगी पनि बढ्ने भएको छ । अहिले १० प्रतिशत महँगी छ । यदि बजेटमा कर्मचारीको तलबभत्ता वृद्धि भएमा महँगी बढेर १५ प्रतिशतसम्म पुग्ने विश्लेषण गरिएको छ । मुलुकमा आयात बढ्दै जाने र निर्यात दर घट्दै जाँदा व्यापारघाटा उच्च विन्दुमा पुगेको छ । वैदेशिक ऋण र अनुदान सहायता रोकिएको छ । राजश्व संकलनमा कमी आएको छ । राज्यको ढुकुटीमा जम्मा भएको दुई खर्बमध्ये ओली सरकार बनेयता एक खर्ब सिद्धिएको छ  ।- मिडियाएनपी