२६ फागुन । सप्तरी घटनापछि मधेसी मोर्चाका कार्यकर्ताले तराई–मधेसमा आक्रमण र तोडफोड गर्ने क्रमलाई जारी राखेका छन् । मोर्चाको आव्हानमा फागुन २४ र २५ गते गरिएको मधेस बन्दका क्रममा एमालेको पार्टी कार्यालय जलाउने, एमालेका नेता, कार्यकर्ताहरुमाथि आक्रमण गर्ने, घर जलाउने र गाडी तोडफोड गर्नेजस्ता हिंसात्मक क्रियाकलापमा उत्रिएका छन् ।
मोर्चाका कार्यकर्ताले सप्तरीका एमाले नेता तथा समर्थकहरुको घरलाई लक्षित गरेर आक्रमण गरेका छन् । एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको राजविराजस्थित घरमा आन्दोलनकारीले ढुंगामुढा गरेर तोडफोड गरेका छन् भने एमाले सांसद् तथा व्यवस्थापिका–संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी समापति रञ्जुकुमारी झाको राजविराजमै रहेको सम्पर्क कार्यालय तोडफोड गरेका छन् । यसरी नै, राजविराजमै एमालेको तर्फबाट राष्ट्रिय योजना आयोगका बनेका पूर्वसदस्य कामानन्द देवले सञ्चालन गरेको लिटिल फ्लावर स्कुलमा पनि तोडफोड गरेर क्षति पु¥याएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले एमालेका नेता, समर्थकहरुको घरमा मात्र होइन, प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको घरमा पनि तोडफोड गरेका छन् । राजविराज–९ स्थित यादवको घरमा आन्दोलनकारीहरुले ढुंगामुढा गरेर क्षतिग्रस्त तुल्याएका छन् । तर, प्रमुख निर्वाचन आयुक्त यादवले भने तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच, मोर्चाका कार्यकर्ताले बाराका एमाले कार्यकर्तालाई कालो मोसो दलेका छन् । एमाले बाराका कार्यालय सहायक शंकर भट्टराई र कार्यकर्ता रामएकवाल प्रसादलाई कालो मोसो दलेका हुन् । मोर्चाका कार्यकर्ताले एमालेको बारास्थित पार्टी कार्यालयमा आगजनी गरेका थिए ।
वीरगञ्जमा भने मोर्चाका कार्यकर्तालाई स्थानीय व्यापारीहरुले प्रतिकार गरेका छन् । बन्दको दोस्रो दिन बजार बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्ताले पसलहरु तोडफोड गर्न थालेपछि व्यापारीहरु प्रतिकारमा उत्रिएका हुन् ।
भाटा र लाठीसहित आन्दोलनमा उत्रिएका मोर्चाका कार्यकर्ताले स्थानीय मीना बजार बन्द गराउन खोजेपछि व्यापारीहरुले लखेटेका थिए । मोर्चा कार्यकर्ता र व्यापारीबीच केही समयसम्म झडप भएको थियो । व्यापारीहरुले मोर्चाका कार्यकर्तालाई मीना बजारदेखि घन्टाघरसम्मै लखेटेपछि उनीहरु फर्केर आएनन् ।



