काठमाडौं, ६ वैशाख । नेपालले पहिलो भू–उपग्रह अन्तरिक्षमा पठाएको छ । बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित नासा स्टेसनबाट प्रक्षेपण भएको भू–उपग्रह आज दिउँसो साढे ३ बजे अन्तरिक्षमा पुग्दैछ ।
‘नेपालीस्याट–१’ नामक सो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेकोमा अमेरिकी दूतावासले खुसी प्रकट गरेको छ । दूतावासले शुक्रबार फेसबुक पेजमार्फत पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा पठाएकोमा नेपाललाई बधाई दिएको छ । उसले सो परियोजनामा सामेल वैज्ञानिकहरूलाई पनि बधाई दिएको छ ।
‘सानो तर महत्वपूर्ण उडान ! आफ्नो पहिलो स्याटलाइट हिजो सफलतापूर्वक अन्तरिक्षमा पठाउन सफल हुनुभएकोमा सो परियोजनामा संलग्न सबै लगायत नेपाललाई बधाई,’ दूतावासले नेपाली र अंग्रेजी भाषामा लेखेको बधाई सन्देशमा भनिएको छ । नेपालले अमेरिकाको सहयोगमा सो नानो स्याटलाइट भू–उपग्रह अन्तरिक्षमा पठाएको हो ।











