काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै समाधान नगरेका कारण सुकुम्बासीका समस्या ठूलो भएको बताएका छन् । नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमुना सदरमुकामको शनिबार विशेष कार्यक्रमकाबीच शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठुलो समस्या नै नभएको बताए ।
उनले भने, “सुकुम्बासीको समस्या ठुलो समस्या नै होइनन् । समाधान नगरेर बनेका हुन् ।” घरखेत नभएका नै बास्तविक सुकुम्बासी भएको भन्दै उनले वास्तविक सुकुम्बासीको पहिचान गरेर समस्या समाधान गरिने बताए ।
उनले भने, “कावासोतीमा घर छ , बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्बासी हुने पनि चलन छ । नारायणघाटमा ४ तले घर छ यहाँ आउदा घडेरी छैन भने यहाँ सुकुम्बासी । यहाँ पनि एउटा घडेरी लिने । त्यो पनि चलन छ । त्यस्तो सुकुम्बासी होइन । वास्तविक सुकुम्बासीको समस्या समाधान गरिन्छ ।”
प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माण लगाय काममा जिम्मेबार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिए । उनले आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि सर्त राखेर गैरजिम्मेबार नबन्न मुख्य मन्त्रीलाई सुझाव दिए । योजनावद्ध र दीर्घकालिन दृष्टिकोण राखेर सरकारले विकासका कामहरुमा अघि बढाएको उल्लेख गर्दै उनले निकट भविश्यमा नै मुलुकका संभाव्य सबै स्थानमा जलमार्ग सुरु गरिने दाबी गरे । जिल्लाका एकीकृत सरकारी कार्यालय रहने गरि १ सय ८६ बिगाह क्षेत्रफलमा नमुना सदरमुकाम बनाउन लागिएको हो ।










