काठमाडौं, ८ बैसाख । पार्टी एकता टुंग्याउन नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन आज सचिवालय बैठक बस्ने भएको हो ।
आइतबार बिहान नेकपा शीर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । यसका साथै नेकपाका दोस्रो तहका नेता तथ जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको छ । उक्त बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो ।
छलफलबाट टुंगोमा पुगेका विषयलाई नेकपा सचिवालयले अन्तिम खाका तयार गर्नेछ । सचिवालयलाई उक्त सहमति अनुमोदन गराएर सोमबार सांगठनिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
कम्युनिष्ट पार्टीको ७० औं एकता दिवस अर्थात् विश्व लेनिन जयन्तीका अवसरमा उक्त घोषणा गर्न लागिएको हो । सोमबार १२ बजे काठमाडौंस्थित प्रज्ञा भवनमा घोषणासभा आयोजना गर्ने निर्णय भएको छ ।
पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड केही दिनदेखि निरन्तर एकता प्रक्रियालाई अन्तिम रुप दिन लागिपरेका थिए । दुई अध्यक्षबीच सहमति भएपछि महासचिव पौडेलसहित पार्टीको एकता प्रक्रियामा असहमत वरिष्ठ नेता नेपालसँग पछिल्लो ३ दिनदेखि छलफल भइरहेको छ । नेता नेपालसँग पनि सहमति जुटेपछि जनगवर्गीय संगठनसँग संयुक्त रुपमा बैठक गरिएको थियो ।











