२६ फागनु । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सप्तरी घटना सरकार र मेधसी मोर्चाको ‘मिलेभगत’ मा भएको आरोप लगाएका छन् । तीन दिनका लागि स्थगन भएको मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने अघिल्लो दिन राजधानीमा गरिएको एक भव्य भेलालाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री चुन्ने बेलामा भोट हाल्न देश–विदेशका अपराधी जम्मा गरेर भोट हाल्न आउने र भोट हालेर प्रधानमन्त्री निर्वाचित हुनेहरुकै मिलेभगतमा सप्तरी घटना भएको हो,’ ओलीले भने, ‘यो कसलाई थाहा छैन ?’ ओलीले सप्तरीमा खुलेआम एमालेका शीर्ष नेताहरुको हत्या गर्ने योजना बनेको भन्दै एमाले त्यस्ता योजनाबाट डराएर नभाग्ने चेतावनी पनि दिए । ‘मदन भण्डारीलाई लुकेर हत्या गरिएको थियो,’ उनले भने, ‘अहिले घोषणा गरेर मार्ने योजना भएको छ । तर, ती सबै योजना असफल बनाउँदै हामी हाम्रो अभियानलाई जारी राख्छौँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले जनताका बीचमा जाँदा गुण्डा लगाएर लखेट्नेहरुले भारतीयहरुले दशगजा क्षेत्रमा प्रवेश गर्दा टुलुटुलु हेरेर बसेको आरोप पनि लगाए । उनले सप्तरी घटनाको दोषी मधेसी मोर्चा भएको भन्दै सरकारले कारवाही नगरे एमाले आफैले कारवाही गर्ने पनि चेतावनी दिए । ‘एमालेको झण्डा जल्ने, एमालेका व्यवसायिक संस्थामा आगो झोस्ने, घरमा आगो लगाउने अनि सरकार चाहिँ टुलुटुलु हेरेर बस्ने हुन्छ,’ ओलीले भने, ‘सरकार उनीहरुलाई नियन्त्रण गर्दैन भने एमालेले पनि आफू बाँच्न जानेको छ ।’