काठमाडौं, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । धर्मनिरपेक्षताको विरोधमा देशब्यापी आन्दोलन छेडेको राप्रपालाई सरकारले वार्ताको लागि आह्वान गरे पछि टोली गठन गरेको हो ।
राप्रपाले वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापासहितको तीन सदस्यीय वार्ता समिति गठन गरेको सो पार्टीले जनाएको छ ।
सरकारले गरेको वार्ताको आह्वानलाई राप्रपाले सकारात्मक रुपमा लिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राप्रपालाई पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा बस्न आग्रह गरेका थिए । सरकार र राप्रपाबीच मंगलबार दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुनेछ ।










