नेपालगन्ज, ९ वैशाख । स्वस्तिका लिम्बुको मृत्युको रहस्य भिसेरा परीक्षणपछि मात्र खुल्ने भएको छ । भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा स्वस्तिकाको हत्या भएको हो वा आत्महत्या हो भन्ने स्पष्ट उल्लेख नभएपछि प्रहरीले भिसेरा परीक्षण गर्न लागेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार स्वस्तिकाको मृत्युबारे पोस्टमार्टम रिर्पोटमा स्पष्ट नभएपछि सत्यतथ्य बुझ्न भिसेरा परीक्षण गर्न लागिएको हो । उनले भिसेरा परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाईएको बताए ।
बैशाख १ गते भृकुटीनगरस्थित आफ्नै निवासमा रहस्यमय मृत्यु भएकी १९ बर्षीया स्वस्तिकाको श्रीमानले नै हत्या गरेको माईती पक्षले आरोप लगाउँदै आएको छ । र, श्रीमान आशिष भनिने मुकेश बुढा क्षेत्री बिरुद्ध किटानी जाहेरी पनि दिएको छ । मुकेश अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । सांदद नन्दलाल रोकायाका नाती पर्ने मुकेशलाई राजनीतिक दवावमा उन्मुक्ति दिने प्रपञ्च भईरहेको भन्दै परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै आएको छ । तर, प्रहरीले भने कसैको दवावमा नपरी निष्पक्ष तरिकाले घटनाको अनुसन्धान गरिरहेको दाबी गर्दै आएको छ ।
यता पोस्टमार्टम रिपोर्ट तयार पार्न पनि चलखेल भएको स्वस्तिकाको माईती पक्षको आरोप छ । स्वस्तिकाका माईती पक्षले प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै भोलि बिहान नेपालगन्जमा पत्रकार सम्मेलन पनि गर्ने भएको छ ।
के हो भिसेरा परीक्षण ? संदिग्ध अवस्थामा मृत्यु भएको व्यक्तिको विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होईन भन्ने पत्ता लगाउन भिसेरा परीक्षण गरिन्छ । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार कसैको संकास्पद मृत्यु भएको खण्डमा पोस्टमार्टमसँगै भिसेरा परीक्षण पनि गर्ने गरिन्छ । भिसेरा परीक्षणबाट कुनै पनि व्यक्तिको मृत्यु विष वा कुनै लठ्याउने औषधिबाट भएको होरहैन भन्ने थाहा लाग्छ ।
मृतकको शरीर हेर्दा शंकास्पद देखिएमा, विष खाएरखुवाएको आशंका भएमा भिसेरा जाँच गरिन्छ । मृत व्यक्तिको शरीर, जिब्रो, आँखा, नङ लगायतका भाग निलो देखिएमा अथवा मुखबाट फिँज निस्किएको अवस्था रहेमा विषको सम्भावनालाई नकार्न सकिँदैन । यस्तो अवस्थामा पोस्टमार्टमपछि भिसेरा परीक्षण गरिन्छ ।
भिसेरा परीक्षणका लागि मृत शरीरबाट लिभर, स्प्लीन र किड्नीको भाग संरक्षित गरिन्छ । भिसेरा रिपोर्ट आउन सामान्यतया ३ साताको समय लाग्छ । तर, ल्याबमा भएको कामको चापका कारण रिपोर्ट आउन ढिलाई हुन सक्छ । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार स्वस्तिकाको भिसेरा रिपोर्ट आउन कम्तिमा पनि डेढ महिना लाग्न सक्छ ।










