इटहरी ९ वैशाख । मोरङको पथरीशनिश्चरे नगरपालिका १ मा बस्दै आएकी २९ वर्षीया रुपा भनिने रिना बस्नेतको मृत्यु प्रकरण थप पेचिलो बनेको छ। तेह्रथुम घर भई पथरी बजारमा डेरा गरेर बस्दै आएकी रिनाको हत्या नभई तीन तलामाथिबाट लडेर मृत्यु भएको भन्दै प्रहरीको प्रारम्भिक जानकारी दिएपछि आफन्तहरु विरोधमा उत्रिएका छन् । रिनाको माइती पक्षले मृत्यु नभई उनको हत्या भएको दावी गरेका छन् । प्रहरीले मृत्यु भनेको भएपनि पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन।
प्रहरीले हत्या घटनालाई जबरजस्ती मृत्यु प्रमाणीत गर्न खोजेको भन्दै आफन्त, स्थानीय बासिन्दा र व्यवसायी विरोधमा उत्रिएका छन् । उनीहरुले रिनाको हत्या नै भएको र घटना भएको तीन दिनसम्म पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले तत्काल सत्यतथ्य पत्ता लगाई घटनामा संलग्नलाई पक्राउ गरेर कारवाही अघि बढाउन माग गर्दै नारावाजी गरेका छन् । स्थानिय र मृतकका आफन्तको आन्दोलनका कारण पथरी बजार तनावग्रस्त बनेको छ। सोमबार बिहानैदेखि प्रहरी र प्रशासन विरुद्ध नाराबाजी गर्दै आन्दोलन सुरु भएपछि अवस्था असामान्य बनेको हो।
आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग समेत ठप्प पारेका छन्। १२ बजेबाट राजमार्गमा टायर बालेर प्रदर्शन सुरु गरिए पनि त्यसलाई नियन्त्रणमा लिन र राजमार्ग सूचारु गर्न प्रहरीले थालेको प्रयास सफल भएको छैन । आन्दोलनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको छ। अवस्था थप तनावपूर्ण हुने देखिएपछि ठाउँ ठाउँबाट प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान थालेको प्रहरीले रिनाले प्रयोग गर्ने मोबाइलका बारेमा पनि अनुसन्धान थालिसकिएको जनाएको छ। मृतक रिनाका पति वैदेशिक रोजगारीमा छन्।
कस्मेटिक पसल सञ्चालन गर्दै आएकी उनी १४ वर्षीय छोरासँगै पथरीमा डेरामा बस्थिन्। गत शुक्रबार साँझ छिमेकीको नानीको जन्मदिन मनाउन गएपछि छोरासँगै उनी पथरीमा आयोजित कन्सर्ट हेर्न पुगेको खुलेको छ। राति फर्किएपछि कोठामा मदिरा सेवन गरेको देखिएको प्रहरीको भनाइ छ। वीरबहादुर बस्नेतको घरको तीन तलामाथि डेरा बस्ने उनको शव शनिबार विहान डेरा बसेकै घरको मुनी निर्वस्त्र अवस्थामा फेला परेको थियो।










