झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अधिनायकवाद लादनेतर्फ अग्रसर भएको आरोप लगाएका छन् ।

सोमबार झापाको चन्द्रगढी विमानस्थलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै देउवाले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको संकेत भएको दाबी गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पत्रकारको प्रश्नमा सभापति देउवाले भोट नदिने अनि, कांग्रेस कमजोर प्रतिपक्षी भयो भनेर आलोचना गर्नुको तुक नरहेको भन्दै कटाक्ष गरे । भोटको बेलामा कांग्रेसलाई भोट नदिने । अनि, अहिले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर भयो भनेर आलोचना गर्ने ? उनको प्रश्न थियो ।

काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो। प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने, “यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो।”

देउवाले पार्टी विधानअनुसार बाँकी रहेका समितिहरु सबैको सहमतिमै गठन गर्ने बताए । उनले संघीय संरचनाअनुसार गठन गर्न बाँकी प्रदेशलगायत समितिहरु पार्टीभित्रका सबै पक्षको सहमतिमै गठन गरेर अघि बढ्ने विश्वास दिलाए ।

जिल्लाको दमकमा आज हुने काङ्ग्रेस क्षेत्रीय समितिको भवन उद्घाटन तथा सम्मान कार्यक्रममा सहभागी हुन पार्टी सभापतिसहितका शीर्ष नेता झापा पुगेका हुन्। एस काठमाडौँ बाट