नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान गृहमन्त्री विमलेन्द्र निधिलाई कानुनी कठघरमा उभ्याउने चेतावनी दिएका छन् । सप्तरी घटनाका बारेमा जानकारी गराउन एमालेले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममाउनले यस्तो चेतावनी दिएका हुन् ।
‘तपाईँ अहिले गृहमन्त्री हुनुहुन्छ , तपाईँलाई राम्ररी हेक्का होस्,’ भट्टराईले चेतावनीको भाषामा भने, ‘कुनै बेला तपाईँ कानुनी कठघरमा उभिँनु पर्ने हुन्छ । तपाईँलाई नेपालको अदालतले उन्मुक्ति दियो भने हामी अन्तराष्ट्रिय अदालत (हेग) पनि जान सक्छौँ ।’
कांग्रेस र माओवादीप्रति निकै आक्रमक देखिएका भट्टराईले तराई–मधेसमा कि एमाले कि अपराधी मात्र देखेको भन्दै कांग्रेस, माओवादी र मोर्चाहरु नभएको दाबी गरे । ‘हामी सप्तरीबाट मृत्युको मुखमा पुगेर पनि बाँचेर आएका छौँ,’ उनले भने, ‘कांग्रेस पार्टी हो कि अपराधीहरुको मोर्चा हो प्रष्ट होस् । अस्ताउन आँटेको माओवादीका बारेमा त कुनै चर्चा गर्नु नै बेकार छ ।’
सुरक्षाकर्मीलाई सलाम
उनले सुरक्षाकर्मीले संयमता नअपनाएको भए सप्तरीकै मञ्चमा एमाले नेताहरुको सामुहिक हत्या हुने दाबी गरे । ‘प्रहरीको संयमता र सतर्कताले हामी बाँचेर आयौँ,’ त्यस्तो बहादुरी काम गर्ने प्रहरीलाई सम्मान गर्नुपर्ने ठाउँमा सरकारले फिर्ता बोलाएको छ,’ उनले भने, ‘यो सरकारलाई हेक्का होस् यो देशमा एमाले पार्टी पनि छ । अनि सुरक्षाकर्मी र प्रशानलाई भन्न चाहन्छु । तपाईहरु ढुक्क हुनुहोस् । एमालेको सरकार आएपछि तपाईँहरुको एमालेले मुल्याङ्कन गर्छ ।’
तराईको माटो विदेशी भूमिलाई दिन्नौँ
भट्टराईले एमालेका लागि मृत्यु बरु सहज हुने भन्दै नेपालको भूमि एक इञ्च पनि नछाड्ने चेतावनी दिए । ‘तराईको हाम्रो भूमि एक इञ्च पनि कसैलाई दिदैनौँ,’ उनले भने । उनले तस्करहरुले मोर्चाका नाममा राजनीति गरेको भन्दै तस्करहरु हराएर जाने र तराईमा एमालेको विचारको जित हुने पनि दाबी गरे ।
एमालेमाथि जाई लाग्नेहरुको सात पुस्ते थाहा छ
भट्टराईले एमालेमाथि जाई लाग्नेहरुको एमालेले सात पुस्ते उतारेर राखेको पनि दाबी गरे । ‘एमालेमाथि जाई लाग्नेहरुको घर–ठेगाना सबै थाहा छ,’ उनले भने, ‘प्रचण्डजी ध्यान दिएर सुन्नुहोस् । उनीहरुलाई सरकारले कारवाही गर्दैन भने एमालेले कारवाही गर्छ । त्यतिबेला कानुन हातमा लियो नभन्नुहोला ।’ उनले मोर्चाका नेताहरुलाई इदीअमिनको संज्ञा पनि दिए । भट्टराईले सम्वोधनका क्रममा भने– ‘कांग्रेस र माओवादीका साथीहरुलाई याद होस् । अन्तिममा तपाईँहरुमाथि प्रहार हुँदा बोल्ने कोही हुने छैनन् ।’
भट्टराइले सबै भन्दा पहिला नाजीहरु कम्युनिष्ट सिध्याउन आएको त्यसपछि यहुदीहरु सिध्याउन आएको र त्यसपछि पोटेष्टेटहरु हुँदै क्याथोलिकहरुलाई सिध्याउँदा पनि चुप लाग्दा अन्तिममा आफुलाई नै सिध्याउँदा आफ्नो पक्षमा बोल्ने कोही नभएको कविता सुनाए ।



